• Sunday 25th of October 2026

कैलाश सिरोहिया ५ दिनदेखि अस्पतालमै


  • धनकुटा खबर
  • .

नागरिकता विवादमा यही जेठ ८ देखि प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ५ दिनदेखि भने अस्पतालमा छन्। धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहँदा बिरामी परेपछि उनी यही जेठ ११ गते जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएका हुन्।

आज जेठ १५ गतेसम्म उनको उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता, डीएसपी रञ्जन अवाले नेपालखबरलाई जानकारी दिए।

उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि गत शुक्रबार साँझ सुरुमा जनकपुर प्रादेशिक अस्पताल लगिएका उनलाई थप उपचारका लागि जनकपुरमै रहेको काव्या अस्पताल भर्ना गरिएको हो। परिवारका अनुसार सिरोहियालाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या थिए।

उनलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले तेस्रोपटक सोमबार जिल्ला अदालतबाट अनुमति पाएको छ।
यसअघि पनि अदालतले प्रहरीलाई दुईपटक ३/३ दिनको हिरासत म्याद दिएको थियो।

तर अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले तेस्रोपटक म्याद मागेको हो। पछिल्लोपटक थप म्याद बुधबार सकिँदै छ।

कान्तिपुर अध्यक्ष सिरोहियाको नागरिकतामा भएको नम्बर उनीभन्दा पहिले नागरिकता लिएका व्यक्तिको नम्बरसँग मिलेकोलगायत गडबडी रहेको भन्दै धनुषा प्रहरीमा जाहेरी परेपछि सिरोहियालाई जेठ ८ गते साँझ काठमाडौँस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी धनुषा लगिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖