• Sunday 25th of October 2026

श्रीमतीको हत्या पश्चात् श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते


  • धनकुटा खबर
  • .

जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमान्ले आत्महत्या गरेका छन्। घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन्।

प्रहरीका अनुसार गणेशमान चारनाथ नगरपालिका–४ भरतपुरका ३५ वर्षीय उमेश यादवले मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा कात्तिक ८ गते राति श्रीमती रिना यादव र छोरा सम्राटमाथि धारिलो हतियार प्रहार गरेका थिए।

घटनामा ३० वर्षीया रिनाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते छोरा सम्राटलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।

घटनापछि फरार भएका उमेशको खोजी गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोछेउ आँपको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट रगत लागेको चक्कुसमेत बरामद गरेको छ। रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖