• Sunday 25th of October 2026

सागर ढकाल- नेपालले खोजिरहेका नयाँ विशेषज्ञ स्पीनर


  • धनकुटा खबर
  • .

काठमाडौं। सागर ढकालले नेपालका लागि जम्मा ७ एकदिवसीय अन्तर्राष्ट्रिय इनिङ्स खेल्दै ४ विकेट लिएका छन् ।विशेषज्ञ बलरका लागि यो विकेट संख्याले राष्ट्रिय टोलीमा उनको स्थानलाई न्याय गर्दैन । तर यहाँ उल्लेखनीय के छ भने यी खेलमा उनको बलिङ इकोनोमी ३.८७ थियो ।

विकेट लिनु मात्र महत्त्वपूर्ण होइन, कम रन दिनु पनि उत्तिकै उल्लेखनीय हो । तर टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने सागरले विकेट लिन मात्र सकिरहेका छैनन्, धेरै रन पनि खाइरहेका छन् ।

उनले हालसम्म ३ टी-२० अन्तर्राष्ट्रिय इनिङ्समा ९ ओभर बलिङ गर्दै ९३ रन दिएका छन् भने एक विकेट मात्र लिन सकेका छन्। यति हुँदा हुँदै पनि सागर आसन्न टी-२० विश्वकपका लागि घोषणा गरिएको नेपाली टोलीमा कसरी अँटाए रु नेपाल क्रिकेट संघ (क्यान) र प्रशिक्षक मन्टी देसाईले विश्वास गरेर उनलाई टिममा स्थान दिएका छन्।

तत्कालीन अवस्थामा सन्दीप लामिछाने अदालती झमेलाका कारण राष्ट्रिय टोलीका लागि उपलब्ध थिएनन्। उनको अनुपस्थितिमा ललित नारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले स्पीन बलिङ सम्हाल्ने गरेका थिए। कुशल मल्ल, कुशल भुर्तेल र कप्तान रोहित पौडेलले पनि पार्ट टाइम स्पीन बलिङ गर्ने गरेका छन्।

विश्वकप खेल्न जानु अघि नेपालले घरेलु मैदानमा वेस्ट इन्डिज एलाई बोलाएर ५ वटा टी-२० खेल खेलेको थियो। यी खेलमा सागर ढकालले राम्रो प्रदर्शन गरे।

उनले वेस्ट इन्डिज एविरुद्ध ३ खेल खेल्दै ६ विकेट लिएका थिए। अन्तिम खेलमा उनले १७ रन खर्चिएर ३ विकेट हात पारेका थिए। दोस्रो खेलमा पनि ४ ओभर बलिङ गर्दै १९ रन खर्चिएर २ विकेट हात पारेका थिए।

यी प्रदर्शनले उनले राष्ट्रिय टोली छनोटकर्ताको मन जिते। त्यसअघि आयरल्यान्ड एविरुद्ध पनि उनले ३ खेलमा ४ विकेट लिएका थिए।

सागरले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको केवल दुई वर्ष मात्र भएको छ। उनले सन् २०२२ को फेब्रुअरीमा ओमानविरुद्ध खेल्दै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।

त्यसै वर्षको मार्चमा पपुआ न्युगिनीविरुद्ध खेल्दै उनले एकदिवशीय अन्तर्राष्ट्रियमा पनि डेब्यु गरेका थिए। खास गरी सन्दीप लामिछाने टिमबाहिर भएपछि सागरले प्लेइङ सेटमा नियमित ठाउँ पाउन थालेका हुन्।

नत्र ललित नारायण राजवंशी र सन्दीपमध्ये एक जना खेल्न नसक्ने अवस्थामा मात्र उनले प्लेइङ सेटमा ठाउँ पाउने गरेका थिए। पछिल्लो समय स्पीन बलिङ पनि गर्ने ब्याटिङ अलराउन्डरको संख्या बढेसँगै सागरलाई प्लेइङ सेटमा ठाउँ बनाउन सजिलो छैन। त्यसका लागि उनले पाएका अवसरहरूमा आफूलाई पुष्टि गर्नुपर्ने छ।

उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओमानको विकेट लिएका थिए भने एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा स्कटल्यान्ड, नामिबिया र यूएईजस्ता स्तरीय टोलीका ब्याट्सम्यानलाई आउट गरेका छन्। नेपाली टोलीमा ललित र सन्दीपपछि आशा गरिएका नयाँ स्पीनर भएकाले सागरमाथि दबाब पनि बढ्दो छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖