काठमाडौं । यस साताको अन्त्यसम्म देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि मौसममा परिवर्तन आउने र केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कात्तिक १२ गते कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनीका केही र कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. विनोद पोखरेलले बिहीबारदेखि शनिबारसम्म लुम्बिनीदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने बताएका छन्। उनका अनुसार हालको पूर्वानुमानले २९ जिल्लालाई वर्षाजन्य जोखिममा देखाएको छ। यद्यपि, वर्षा हुने स्थान, समय र मात्रा परिवर्तन हुन सक्ने उनले बताएका छन्।
बंगालको खाडीमा विकसित प्रणाली गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदै चक्रवात बन्न सक्ने सम्भावना रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ। उक्त प्रणाली भारतको ओडिसा र बिहार हुँदै नेपालमा समेत प्रभाव पार्न सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बताएका छन्।
सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। किसान, हिमाली क्षेत्रका बासिन्दा तथा पदयात्रीलाई विशेष सावधानी अपनाउन र पछिल्लो मौसम पूर्वानुमान तथा आधिकारिक सूचनामा अद्यावधिक रहन अनुरोध गरिएको छ।
महाशाखाका अनुसार बुधबारसम्म भने ठूलो वर्षा वा मौसममा उल्लेखनीय परिवर्तनको सम्भावना छैन।
