एजेन्सी – भारतीय स्पिनर कुलदीप यादव २०२३ एसिया कपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । भारतलाई च्याम्पियन बनाउन प्रतियोगिताभर सानदार प्रदर्शन गरेका कुलदीप प्लेयर अफ द टुनामेन्ट(सर्वोत्कृष्ट) खेलाडी चुनिएका हुन् । कुलदीपले ५ खेलमा ९ विकेट लिएका थिए ।
नेपालसँगको खेलमा कुलदीप विकेटविहीन बनेका थिए । कुलदीपले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चिदा विकेट लिन सकेका थिएनन् । पाकिस्तानलाई सुपर फोर खेलमा २ सय २८ रनले हराउन पाँच विकेट लिएका थिए । श्रीलंकाविरुद्ध ४ विकेट लिएका थिए ।
भारतले एसिया कप २०२३ को फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि ५१ रनको सामान्य लक्ष्य भारतले ६.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमा अल आउट भएको थियो । श्रीलंकाको यो ओडिआईको दोस्रो कम योगफल हो ।
श्रीलंकाका कुशल मेन्डिसले ३४ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए । दुनिथ वेलालागे २१ बलमा ८ रनमा आउट भए । श्रीलंकाका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जसमा ५ खेलाडीले खाता खोल्न सकेनन् । भारतले आठौं पटक एसिया कपको उपाधि जितेको हो । यसअघि भारतले सन् १९८४, १९८८, १९९०र९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।
