काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करीमा एउटा व्यापारीको नाम लिएर सबै चोरलाई भगाउने काम गरेको बताउनुभएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित बढ्दो महँगी र उपभोक्ता हितको सवाल विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले सरकारले एयरपोर्टमा सुन नसमातेर सिनामंगलबारट समात्नु पूर्व योजना अनुसारको काम भएको दाबी गर्नुभयो । एयरपोर्टबाट सुन लिएर निस्किएको ड्राइभरलाई अखडामा नपुगी समात्नु पनि सरकारी योजना नै भएको उहाँको भनाइ छ । ‘गोदाममा जान किन दिइएन ? बिचैमा किन समातियो ? गोदाममा पुगेपछि त त्यहाँ पनि छापा मार्नु पर्यो नि, त्यस कारण बिचैमा समातियो’ ओलीले भन्नुभयो ।
एक सय केजी सुन सहित समातिएको सुन बुझ्न आउने व्यक्ति र ट्याक्सी चालकलाई खोजेको बेलामा हाजिर हुने गरी छाड्नुले नै सरकारको मिलेमतोमा सुन तस्करी भएको ओलीले बताउनुभयो । ‘भगाएकै हो त्यो’, उहाँले भन्नुभयो ।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ भाग्छन् भनेर समात्ने, सांसद् सुनिल शर्मा भाग्छन् भनेर समात्ने सरकारले एक सय किलो सुन तस्करलाई भने खोजेको बेला हाजिर हुने गरी छाडेको ओलीले बताउनुभयो । भाग्ने मान्छेहरू भागिसकेपछि, लुकाउनु पर्ने सुन लुकाइसकेपछि, तीन दिन पछि मात्र गोदाममा छापा मार्ने काम भएको उहाँले सुनाउनुभयो । ‘भाग्ने भागिसके, सीमा काट्ने काटिसके, लुकाउने कुरा लुकाइसकियो, पर्सिपल्ट गएर छापा मारेर ६५ ओटा खाली बक्सा जसमा सामान बोकिएको थियो, ती ६५ बाकस भेटिए तर खाली’, उहाँले भन्नुभयो ।
ओलीले सरकार निर्लज्ज र बेसरम भएको बताउनुभयो । ‘सुन बुझ्न गएको मान्छेलाई कसको सुन हो ? के हो ? कहाँबाट आयो ? कसले पैसा हाल्यो ? त्यो कुराको सोधी खोजी नगरी कहाँ लिएर जाँदै थियो त्यो पनि नसोधीकन छोड्यो होला त ?’ ओलीले भन्नुभयो ।
भुटानी शरणार्थी प्रकरणमा पनि सरकारले छानबिन गर्नुको सट्टा अघिल्लो वर्ष छाडिदिएको ओलीले बताउनुभयो । अहिले प्रेसर परेर छानबिन गर्दा सरकार आफैँ अप्ठेरोमा परेको र सरकारकै मान्छे परेका ओलीले सुनाउनुभयो ।
