• Friday 9th of October 2026

दक्षिण अफ्रिकासँग खेल्नुअघि नेपालका कप्तान रोहित के भन्छन्?


  • धनकुटा खबर
  • .

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूह ‘डी’ मा रहेको नेपालले आफ्नो तेस्रो खेलमा शनिबार बिहान सवा ६ बजे दक्षिण अफ्रिकासँग खेल्दैछ।

लगातार तीन जित निकालेर सुपर-८ मा स्थान पक्का गरिसकेको दक्षिण अफ्रिकाविरूद्ध नेपालको खेल चुनौतीपूर्ण देखिएको छ।

नेपालका लागि सुपर-८ मा स्थान बनाइसक्न दक्षिण अफ्रिकाविरूद्ध जित निकाल्नु पर्ने बाध्यता छ। यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने श्रीलंका विरूद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो।

क्यारेबियन राष्ट्र सेन्ट भिसेन्टमा हुने खेलअघि नेपालका कप्तान रोहित कुमार पौडेलले दक्षिण अफ्रिका विरूद्धको खेल चुनौतीपूर्ण भएको स्वीकार गरे। उनले सन्दीप लामिछाने टोलीमा थपिँदा केही आसा बढ्ने पनि बताए। तर सन्दीपले पछिल्लो ६ महिनादेखि प्रतिस्पर्धात्मक खेल खेलेका छैनन्।

‘दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य दिन सके हामीले बलिङमा राम्रो गर्न सक्छौं भन्ने लाग्छ। अर्को तर्फ हाम्रो टोलीमा सन्दीप दाइ पनि थपिनुभएको छ,’ रोहितले भने।

दक्षिण अफ्रिकासहित अन्तिम खेलमा बंगलादेशलाई पराजित गरे मात्र नेपाल सुपर-८ मा पुग्नेछ। तर त्यो चुनौती पार गर्न नेपालका लागि कठिन छ।

‘दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेलिरहेको छ। बंगलादेश पनि राम्रो टोली हो। हाम्रा लागि सुपर-८ मा पुग्न दुवै खेल जित्न पर्छ। हामी अगाडिका चुनौती स्वीकार गर्न तयार छौं,’ उनले भने।

अमेरिकामा भएका दुई खेलमा जितबिहीन बन्न परेको नेपालका लागि विकेट र कन्डिसनले असर गरेको देखिन्छ।

‘अमेरिकामा विकेट र कन्डिसन चुनौती थियो। तर पनि सबैले त्यसको पनि सामना गर्नु पर्छ। वेस्ट इन्डिजमा पनि सजिलो छैन। त्यसले राम्रो क्रिकेट खेल्नुको विकल्प छैन,’ उनले भने।

नेपाली टोली एक दिन ढिलो गरी सेन्ट भिसेन्ट पुगेको हो। अमेरिकाको फ्लोरिडाको मौसम खराब भएपछि बिहीबार नेपाली टोलीको चाटर्ड फ्लाइट रद्द भएको थियो।-सिताराम कोइराला/सेतोपाटी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖