• Friday 9th of October 2026

कप्तान रोहित भन्छन्- नेपाली टोलीप्रति गर्व छ


  • धनकुटा खबर
  • .

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा स्तब्ध बन्यो।

शनिबार सेन्ट भिसेन्टको किंग्सटाउनस्थित आर्नोल भेल रंगशालामा दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनले पराजित हुन बाध्य भयो। जित नजिक पुगेर पनि खेल गुमाउन पुगेको नेपालका कप्तान रोहितकुमार पौडेलले नेपाली टोलीप्रति गर्व गर्ने बताएका छन्।

‘नेपाली टोलीप्रति गर्व गर्छु,’ रोहितले खेलपछि भने, ‘विशेषगरी हामीले दक्षिण अफ्रिकाविरुद्ध राम्रो बलिङ र ब्याटिङ गर्‍यौं।’
खेलमा टस जितेर पहिले बलिङ रोजेको नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमै रोकेको थियो। कप्तान रोहितले शुक्रबार विकेट हेरेपछि ‘स्लो विकेट’ देखेर पहिले बलिङ गरेको बताए।

‘हिजो विकेट हेरेपछि स्लो विकेट हुन्छ भन्ने लागेको थियो,’ रोहितले भने, ‘जब हामी बलिङ गरिरहेका थियौं, विकेटले हाम्रा स्पिनर मद्दत गरिरहेको थियो। त्यसैले हामीले स्पिनरलाई प्रयोग गर्‍यौं।’
उनले जित नजिक पुगेर हार्दा दुख लगेको बताए। तर उनले दक्षिण अफ्रिकाविरुद्ध राम्रो ‘फाइट’ गरेको बताए।

‘हामी जितको धेरै नजिक पनि पुग्यौं। हामीले धेरै राम्रो फाइट गर्न सक्यौं,’ उनको भनाइ छ।

नेपाली टोलीको हारको मुख्य कारण अनुभव देखिएको छ। सानो लक्ष्य पाए पनि अनुभवी टोलीविरूद्ध नेपाली ब्याटर संयम हुन सकेनन्। कप्तान रोहित पनि नेपाली टोलीमा एक्सपोजरको कमी भएको बताउछन्। ठूलो टोलीविरुद्धको खेलमा एक्सपोजर पाउन सके भविष्यमा जित निकाल्न सक्ने रोहितको भनाइ छ।

‘हामीले यस्तै खालको खेलमा एक्सपोजर पाउन सक्यौं भने हामी आगामी खेलमा नजिता दिन सक्छौं,’ उनले भने।

विशेषगरी नेपाली राष्ट्रिय टोलीलाई समर्थकको ठूलो साथ रह्यो। अमेरिकामा भएका खेलमा मात्र होइन वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा भएको खेलमा समेत नेपाली समर्थक लामो यात्रा गरेर खेल हेन्न पुगेका थिए।

अमेरिकाको डालासमा त पूरै रंगशाला नेपाली जर्सी लगाएका समर्थकले भरिएको थियो। फ्लोरिडामा पनि वर्षाका वाबजुत नेपाली समर्थक लामो यात्रा गरेर अमेरिका तथा संसारभरबाट पुगेका थिए। शनिबार वेस्ट इन्डिजमा पनि नेपाली समर्थकको उपस्थिति थियो।

‘हाम्रा फ्यानले जुन तरिकाले समर्थन गर्नु भयो,त्यसका लागि धेरै धन्यवाद दिन चाहान्छु। हाम्रो लागि उहाँहरूले धेरै लामो यात्रा गरेर आउनु भएकोमा खुसी छौं,’ उनले भने।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖