काठमाडौं । विश्वकप क्रिकेटमा यो बर्ष अफगानिस्तान चम्कियो । विश्वलाई नै चकित पार्दै प्रतियोगिताको सेमिफाइनलमा पुग्यो । यसको पछाडी अफगानिस्तान क्रिकेटको प्रदर्शनमा व्यापक सुधार हुनुमा खेलाडीहरुको मेहनत छँदै छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईको साथले पनि त्यती नै महत्वपूर्ण भूमिका खेलेको छ । विश्वमा क्रिकेटको पावर हाउस भनेर चिनिने भारतले अफगानिस्तानको क्रिकेटको उत्थानमा पनि अहम् भूमिका खेलेको छ ।
सन् २०१५ मा भारतीय क्रिकेट बोर्ड बीसीसीआईले अफगानिस्तानलाई ग्रेटर नोएडास्थित शहीन विजय सिंह पाठिक स्पोर्ट्स कम्प्लेक्सलाई आफ्नो अस्थायी रुपमा गृह मैदानको रुपमा प्रयोग गर्ने अनुमति दियो । यससँगै शारजाहबाट अफगानिस्तानको राष्ट्रिय टोली नोएडामा तयारी सुरु गर्न थाल्यो । सोही मैदानमा, सन् २०१७ मा अफगानिस्तान र आयरल्याण्डबीच अन्तर्राष्ट्रिय खेल पनि भयो । अफगानिस्ताले देहरादुनमा पनि अफगानिस्तानविरुद्ध अन्तर्राष्ट्रिय टी–२० सिरिज होस्ट पनि गरेको थियो ।
यस्तै, अफगानिस्तानलाई भारतीय प्रशिक्षकहरुले पनि सहयोग गर्दै आएका छन् । पूर्व भारतीय खेलाडीहरु लालचन्द राजपुत, मनोज प्रभाकर र अजय जडेजाजस्ता भारतीय क्रिकेट प्रशिक्षकले अफगानिस्तानलाई प्रशिक्षण गराएका छन् । सन् २०२३ को एकदिवसीय विश्वकपमा पनि जडेजाले प्रशिक्षण गराएका थिए । वाङ्खेडे स्टेडियममा जडेजाले अष्ट्रेलियाविरुद्धको खेलपश्चात ब्याटिङ लेजेन्ड सचिन टेन्डुल्करलाई बोलाएका थिए । यसले पनि अफगानिस्तानको ब्याटिङलाई थप सुधार ल्याउन मद्दत गरेको देखिन्छ ।
बीसीसीआईले अफगानिस्तानका तत्कालीन राष्ट्रपति असरफ घानीलाई बैंगलुरुमा भएको पहिलो टेस्ट खेल हेर्न पनि आमन्त्रित गरेको थियो । जसले दुई राष्ट्रबीचको सम्बन्ध थप प्रगाढ बनेको थियो । साथसाथै, भारतीय प्रिमियर लिग आईपीएलले पनि अफगानिस्तानको खेलाडीको क्षमता अभिवृद्धि गर्न निकै मद्दत पुर्याएको छ । अफगानिस्तानका धेरै खेलाडीहरूको आइपीएलमा सहभागिता हुने गरेको छ । यसक्रममा प्राप्त हुने राम्रो पारिश्रमिकले खेलाडीहरुलाई मात्र साथ नदिइ अफगानिस्तानका उदाउँदा खेलाडीहरुलाई पनि प्रेरित गरेको बुझिन्छ ।
आईपीएलमा अफगानिस्तानका खेलाडीहरुको उपस्थिति बाक्लिँदै गइरहेको छ । यसैबीच भारतले नेपाललाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । नेपालका लागि भारतमा सुविधासम्पन्न खेल मैदान उपलब्ध गराउने बताइसकेको छ । भारतीय दूतावासले नेपाली खेलाडीहरुलाई बोलाएरै आवश्यक क्रिकेट सामग्री लगायतका सहयोग गर्दै आइरहेको छ । अहिले नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको जिम्मेवारीमा भारतीय नागरिक मन्टी देशाइ छन् । उनी नेपालको हेड कोच बनेपछि क्रिकेटमा नेपालले पछाडी फर्कनु परेको छैन् । विश्वकपमा नेपालको प्रदर्शनपछि नेपाल पनि भारतको साथ सहयोगले आगामी दिनमा अफगानिस्तानकै बाटो समात्नसक्ने विश्लेषण क्रिकेटका जानकारहरुले गर्न थालेका छन् ।
