• Monday 5th of October 2026

चिनीको मूल्य हालसम्मकै उच्च, खुद्रा बजार मूल्य प्रतिकिलो १ सय ४० रूपैयाँसम्म पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौं- केही दिनअगाडिसम्म खुद्रा बजारमा १ सय ५ रुपैयाँदेखि १ सय १० रुपैयाँमा बिक्री भइरहेको चिनीको मूल्य एकाएक बढेर प्रतिकिलो १ सय ४० रुपैयाँसम्म पुगेको छ। मंगलबार र बुधबारसम्म चिनी प्रतिकिलो १ सय २५ रुपैयाँमा बिक्री भइरहेको थियो।

तर बिहिबार बिहानदेखि खुद्रा बजारमा चिनी प्रतिकिलो १ सय ४० रुपैयाँसम्ममा बिक्री हुन थालेको छ। सरकारी व्यापार कम्पनीसँग चिनी नभएको मौका तथा चाडपर्व सुरु भएसँगै बजारमा चिनी अभाव देखाउँदै व्यवसायीले चर्को मूल्य असुली गरिरहेका छन्।

बुधबारसम्म ५० किलो बोराको होससेलमा ६ हजार ५० रूपैयाँ मूल्य थियो। तर बिहीबार प्रतिबोरा ६५ सयभन्दा बढी भएको छ। ६ हजार बोरामा चिनी खरिद गरेका किरान पसलले प्रतिकिलो १२५ रुपैयाँमा चिनी बिक्री गरिरहेका थिए। तर बिहीबार एक्कासी बोरामै ५ सय रुपैयाँ बढेपछि किराना पसलहरुले प्रतिकिलो १ सय ४० रुपैयाँसम्ममा चिनी बिक्री गरिरहेका छन्।

व्यापारीले जहिले पनि चाडपर्व सुरु भएसँगै चिनीको मूल्य बढाउँदै आएका छन्। यसपटक पनि दसैछतिहार तथा छटपर्व लक्षित गर्दै अहिलेदेखि नै बजारमा चिनी अभाव देखाउँदै मूल्य बढाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका एक पूर्वमहानिर्देशकले बताए।

विभागका एक कर्मचारीका अनुसार व्यापारीले विराटनगर, इटहरी, विरगञ्ज तथा चितवनमा चिनी लुकाएर राखेका छन्। लुकाएको चिनी विभागले छापा मार्न लागेपछि ३ दिन अगाडि मात्रै विभागका महानिर्देशक सरुवा गरिएको थियो।

ती कर्मचारीका अनुसार व्यवसायीले ३० हजार मेट्रिक टनभन्दा बढी चिनी लुकाएर अभाव सिर्जना गरेका हुन्। व्यवसायीको कालोबजारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा मन्त्रीले नै साथ नदिएको ती कर्मचारीले बताए। ‘मन्त्री तथा सचिवबाटै कालोबजारीलाई सहयोग गर्न गौदाममा लुकाएर राखिएको चिनी छापा मार्न खोज्दा महानिर्देशकको सरुवा भएको हो,’ ती कर्मचारीले भने, ‘ चिनीको अभाव देखाउँदै कालोबजारी गर्नेलाई त कारबाही गर्न सहयोग गर्नु पर्नेमा कमिसन खाँदै पुरस्कार दिइएको छ।’

अहिले सरकारी व्यापार कम्पनीसँग चिनी छैन। केही दिन अगाडि मात्रै ६० हजार टन चिनी आयातका लागि अनुमति माग भएको थियो तर अर्थले २० हजार मेट्रिक टनमा लागि मात्रै अनुमति दिएको छ। यो चिनी दसैँ तथा तिहार अगाडि आइपुग्ने सम्भावन कम भएको मौका छोप्दै व्यवसायीले मूल्यमा कालो बजारी गरेका हुन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖