एजेन्सी । शनिबार बार्बाडोसमा भारत र दक्षिण अफ्रिकाबिच हुने टी–२० विश्वकपको फाइनल खेलमा वर्षाको छाया परेको छ । मौसम पूर्वानुमान प्राधिकरणले पानी पर्ने भविष्यवाणी गरेका छन् । मौसमविद्ले केही समय वर्षा हुन सक्ने बताएका छन् ।
बिहान ४ बजेदेखि ९ बजेसम्म ५० प्रतिशत आर्द्रताको सम्भावना रहेको प्राधिकरणले जनाएको छ । तर बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म ३० प्रतिशतसम्म घट्न सक्छ । तर, फेरि बढ्ने सम्भावना छ । आर्द्रता बढ्दै जाँदा वर्षाको सम्भावना बढ्ने बताइएको छ।
नियमले के भन्छ?
यदि वर्षा भयो भने, खेल पूरा गर्न थप १९० मिनेट दिइनेछ। विजेता बन्नका लागि एउटा टोलीले कम्तीमा १० ओभर ब्याटिङ गर्नुपर्नेछ ।
शनिबारको अतिरिक्त समयमा पनि दश ओभरको ब्याटिङ सम्भव भएन भने आइतबार अर्थात् रिजर्भ डेमा खेल बाँकी रहेको स्थानबाट सुरु हुनेछ ।
तर, आइतबार पनि वर्षाको सम्भावना रहेको छ । तर यसको सम्भावना २० प्रतिशत छ।
रिजर्भ डेमा पनि खेलको नतिजा नआएमा दुवै टोलीलाई संयुक्त विजेता घोषित गरिनेछ ।
यदि खेल बराबरी भएमा सुपर ओभरमा निर्णय हुनेछ। सुपर ओभरमा पनि बराबरी भएमा अर्को सुपर ओभर हुनेछ । खेलको निर्णय नभएसम्म सुपरओभर दिइनेछ ।
वर्षाका कारण सुपर ओभर हुन नसके दुवै टोलीलाई संयुक्त विजेता घोषणा गरिनेछ ।
