एजेन्सी । आइसीसी टी–२० विश्वकपको उपाधि भिडन्तमा भारतले दक्षिण अफ्रिकाविरूद्ध पावरप्लेमा तीन विकेट गुमाएको छ ।
बार्बाडोसस्थित केन्सिंग्टन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पाचौं ओभरमा तीन विकेट गुमाएको हो ।
दक्षिण अफ्रिकाका केशव महाराजको बलमा भारतका कप्तान रोहित शर्मा दोस्रो ओभरको चौथो बलमा आउट भए । आउट हुनुअघि उनले ५ बलमा २ चौका हानेर ९ रन बनाएका थिए ।
त्यसपछि आएका रिशभ पन्त दोस्रो बलमै आउट भए । उनलाई पनि केशव महाराजले क्वीन्टन डीककबाट क्याच आउट गराएका हुन् ।
पन्तको विकेटपछि मैदानमा आएका सूर्यकुमार यादव कगिशो रबाडाको बलमा ४.३ ओभरमा हेनरिक क्लासेनबाट क्याच आउट भए । आउट हुनुअघि यादवले ४ बलमा ३ रन बनाएका थिए । सूर्यकुमारको विकेटपछि अक्षर पटेल ब्याटिङमा आएका छन् ।
ओपनर विराट कोहली २३ रनमा २८ रन बनाएर खेलिरहेका छन् । ८ ओभर सकिँदा भारतले तीन विकेट गुमाएर ५९ रन बनाएको छ ।
