• Friday 9th of October 2026

रोहितले खुलाए सन्यास लिनुको कारण


  • धनकुटा खबर
  • .

एजेन्सी । भारतीय टोलीले टी–२० विश्वकपको नवौँ संस्करणको उपाधि जिते लगत्तै टोलीका केही सिनियर खेलाडीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए । उपाधि जित्दाको क्षणलाई यी सिनियर खेलाडीले संन्यासका लागि उपयुक्त अवसरको रूपमा व्याख्या गरे ।

यसरी संन्यास लिनेमा कप्तान रोहित शर्मा, पूर्वकप्तान विराट कोहली, अनुभवी अलराउन्डर रवीन्द्र जडेजालगायतका खेलाडी थिए । तर, संन्यासको घोषणा गरेको एक दिनपछि नै रोहित शर्माको एउटा अभिव्यक्ति चर्चाको विषय बन्न पुगेको छ ।

रोहितले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट आफ्नो संन्यास अप्रत्याशित भएको प्रतिक्रिया दिएका छन् । उनले संन्यास घोषणा गर्नु अघिसम्म पनि आफूले यस विषयमा केही नसोचेको बताएका छन् । रोहितको यो अभिव्यक्तिपछि उनले परिस्थितिजन्य अवस्थाका कारण यस्तो निर्णय लिएको अनुमान लगाउन थालिएको छ ।

उनले एक अन्तरवार्ताका क्रममा भनेका छन्, ‘मैले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको विषयमा सोचेको पनि थिइन । तर, परिस्थिति नै यस्तो सृजना भयो । त्यसैले मैले उपाधि जितेको क्षणलाई नै संन्यास लिने उपयुक्त अवसर सम्झिएँ ।’

खासमा पछिल्लो समय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले गौतम गम्भीरलाई भारतीय टोलीको प्रमुख प्रशिक्षक बनाउने तयारी अगाडि बढाएको छ । प्रमुख प्रशिक्षक राहुल द्रविडको कार्यकाल विश्वकप लगत्तै सकिएकाले बीसीसीआई नयाँ प्रमुख प्रशिक्षकको नियुक्त गर्ने तयारीमा जुटेको हो ।

यसै क्रममा गौतम गम्भीरको नाम सबैभन्दा अगाडि छ । गौतम गम्भीरले भने प्रमुख प्रशिक्षक बन्नका लागि बीसीसीआई सक्षम केही माग अगाडि सारेका छन् । गौतम गम्भीरले बीसीसीआईसँग राखेको मागले भारतीय टोलीका कप्तान रोहित शर्मा, प्रभावशाली ब्याट्सम्यान विराट कोहलीजस्ता खेलाडीको खेलजीवन अप्ठ्यारोमा पर्न सक्ने सम्भावना थियो ।

उनले सन् २०२५ मा पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफी रोहित शर्मा, विराट कोहली, रवीन्द्र जडेजा, मोहम्मद सामीलगायतका सिनियर खेलाडीका लागि अन्तिम खेल हुन सक्ने माग पनि राखेका छन् ।

यदि यी खेलाडीले च्याम्पियन्स ट्रफी क्रिकेटमा राम्रो प्रदर्शन गर्न नसके टोलीबाट हटाइनु पर्ने माग राखेका छन् । त्यसैले गम्भीर प्रमुख प्रशिक्षक बनेमा च्याम्पियन्स ट्रफीपछि यी सिनियर खेलाडी तीनवटै ढाँचाको प्रतियोगिताबाट बाहिरिन सक्ने सम्भावना थियो ।

सम्भवतः रोहित शर्माले यही दबाबमा परेर आफूले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएकोतर्फ सङ्केत गरेका हुन् । रोहितले आगामी दिनमा पनि आफूले फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) भने खेल्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖