• Monday 5th of October 2026

कांग्रेस शेखर समूहको भेलामा बोलाइएका प्रदीप पौडेल चीनतिर, विश्वप्रकाशको टुंगो छैन


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर शेखर कोइराला समूहले बैठकमा आमन्त्रण गरेका नेताद्वय सहभागीता जनाउने बारे अनिर्णित बनेका छन्।

कोइराला समूहको बैठकमा बोलाइएका नेताहरुमध्ये प्रदीप पौडेल विदेश भ्रमणमा निस्किन लागेका छन् भने महामन्त्री विश्वप्रकाश शर्माको बैठकमा सहभागीता जनाउने बारे अझै टुंगो लागेको छैन।

नेता पौडेल उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जान लागेका छन्। उनी दुई दिने चीन भ्रमणमा जान लागेका हुन्। आज दिउँसो १ बजे बोलाइएको शेखर समूहको बैठक सुरु हुनु अगावै उनी चीनतर्फ प्रस्थान गर्न लागेका हुन्।

असोज ४ गते स्वदेश फर्कने गरि दुई दिने चीन भ्रमणमा जान लागेको उनले जानकारी दिए। नेता पौडेल कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका थिए।

पछिल्लो समय कांग्रेस संस्थापन पक्षसँग असन्तुष्टि जनाएका उनी इतर पक्षसँग निकट देखिएका थिए। कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहबाट १४ औं महाधिवेशनमा संस्थापन प्यानलबाट उम्मेदवार बनेर पराजित भएका हुन्।

अर्का महामन्त्री विश्वप्रकाश शर्माको बैठकमा सहभागी हुने बारे अझै टुंगो लागिसकेको छैन। शर्माले बैठकमा सहभागीता जनाउने बारे निक्र्योल गरिनसकेको उनी निकट स्रोतले जनाएको छ।

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएर विजयी भएका शर्मा पछिल्लो समय शेखर समूहसँग निकट देखिएका थिए।

उनको निकटता शेखर समूहकै महामन्त्री गगन थापासँग बढेको थियो। तर आजको संस्थापन इतरको भेलामा सहभागीता जनाउने बारे यथोचित निर्णय गर्न सकेका छैनन्।

असोज ४ मा बस्ने कांग्रेसको केन्द्रीय समिति बैठक अघि बोलाइएको शेखर समूहको बैठकमा यी दुबै नेतालाई आमन्त्रण गरिएको थियो। यद्यपि चीन भ्रमणमा जान लागेका पौडेल बैठकमा सहभागी नहुने निश्चित देखिए पनि महामन्त्री शर्माले अझै बैठकमा सहभागीता बारे निर्णय गरिसकेका छैनन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖