कोपा अमेरिकाको क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनाले इक्वेडरको सामना गर्दैछ । बिहान पौने ७ बजे शुरू हुने खेल अमेरिकाको एनआरीजी रंगशालामा हुने छ ।
अर्जेन्टिना समूह ‘ए’ को विजेता तथा इक्वेडर समूह ‘बी’ को उपविजेताका रूपमा क्वार्टरफनाइल पुगेका थिए ।
यी दुई टोलीबीच हालसम्म ४० खेल भएका छन् । जसमा अर्जेन्टिनाले २४ र इक्वेडरले पाँच जीत निकाल्दा ११ खेल बराबरीमा सकिएका थिए ।
पछिल्लो वरीयतामा इक्वेडरभन्दा अर्जेन्टिना निकै अगाडि छ । अर्जेन्टिना पहिलो स्थानमा आसीन छ । इक्वेडर भने ३०औँ स्थानमा छ ।
अर्जेन्टिनाले कोपा–अमेरिकामा फुटबलमा पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । अर्जेन्टिना सबैभन्दा बढी कोपा–अमेरिकाको उपाधि जित्ने राष्ट्र पनि हो । हालसम्म अर्जेन्टिनाले १५ पटक उपाधि चुमिसकेको छ ।
इक्वेडर भने हालसम्म कोपा–अमेरिकाको सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।
