एक वर्षको अवधिमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले एक सय ३६ मिलियन अमेरिकन डलर कमाएका छन्, इन्टर मियामी क्लबमा आबद्ध लियोनल मेसी एक सय ३० मिलियन अमेरिकन डलरका साथ दोस्रो स्थानमा छन् ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पाँच वर्षपछि सर्वाधिक कमाउने फुटबलर बनेका छन् । फोर्ब्सले मंगलबार धेरै कमाउने खेलाडीको सूची सार्वजनिक गर्दा रोनाल्डो शीर्ष स्थानमा परेका हुन् । सन् २०१७ मा उनी अन्तिमपटक सर्वाधिक कमाउने खेलाडीको शीर्ष स्थानमा पुगेका थिए । करिअरमा उनी तेस्रोपटक फोर्ब्सको सूचीको शीर्ष स्थानमा रहे । यसै सिजनमा अमेरिकाको इन्टर मियामी क्लबमा पुगेका लियोनल मेसी दोस्रो स्थानमा छन् । फोर्ब्सले एक वर्षभित्र खेलाडीले आर्जन गरेको तथ्यांकका आधारमा सूची तयार पारेको हो ।
गत सिजनमा रोनाल्डो म्यानचेस्टर युनाइटेड परित्याग गरी साउदी प्रो लिगमा आबद्ध भएका थिए । युरोपियन लिगलाई चटक्कै छाडेका रोनाल्डो अल नासेरमा आबद्ध हुँदा एक सय ३६ मिलियन अमेरिकी डलर आर्जन गरेका छन् । उनी अल नासेरमा कीर्तिमानी रकममा आबद्ध भएका थिए ।
फोर्ब्सका अनुसार उनले अल नासेरबाट तलब र बोनसबापत ४६ मिलियन डलर लिने गर्छन् । यसैगरी, उनले विभिन्न कम्पनीको ब्रान्ड एम्बासडर र सम्झौताबाट ९० मिलियन अमेरिकन डलर आर्जन गरेका छन् । एक वर्षको अवधिमा एक सय ३६ मिलियन अमेरिकन डलर अन्य कुनै पनि फुटबल खेलाडीले आर्जन नगरेको फोर्ब्सले उल्लेख गरेको छ । यसअघि टेनिसका रोजर फेडेरर, गल्फका टाइगर उड र बक्सिङका कनर म्याकग्रेगरले रोनाल्डोले जत्तिकै रकम आर्जन गरेका थिए । रोनाल्डोको मुख्य आम्दानी स्रोतमध्ये सोसल मिडिया पनि हो ।
दोस्रो स्थानमा मेसी
अर्जेन्टिनी कप्तान मेसीले करिअरमा पहिलोपटक युरोपियन लिग छाडे । पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता नगर्ने भएपछि उनले इंग्लिस फुटबलका आइकोनिक खेलाडी डेभिड बेकह्यामको लगानीमा रहेको इन्टर मियामीसँग सम्झौता गरे । मेसीको आगमनसँगै अमेरिकाको लिगले ख्याती कमाएको छ । मेसीको प्रत्येक खेल हेर्न रंगशाला भरिभराउ हुने गर्छ । अर्जेन्टिनी खेलाडीले प्रतिस्पर्धा गर्ने दिनमा टिकट सोल्डआउट हुने गरेको छ ।
बार्सिलोना तथा पिएसजीजस्ता चर्चित क्लबबाट खेलिरहेका मेसीले यस वर्ष एक सय ३० मिलियन अमेरिकन डलर कमाएका छन् । फोर्ब्सले जनाएअनुसार उनले मियामीबाट तबल र बोनसबात ६५ मिलियन अमेरिकन डलर आर्जन गर्छन् । यसैगरी, उनले विभिन्न कम्पनीको प्रायोजनबाट ६६ मिलियन अमेरिकन डलर लिने गरेका छन् । गत वर्ष कतारमा आयोजना भएको फिफा विश्वकप फुटबल प्रतियोगिता अर्जेन्टिनालाई दिलाएपछि मेसी कीर्तिमानी रूपमा आठौँपटक बालोन डिअर विजेता बन्ने सम्भावना बढेको छ ।
