• Monday 5th of October 2026

यसरी सावित्राले सुनाइन् युरोपियन लिगको अनुभव


  • धनकुटा खबर
  • .

काठमाडौं । युरोपेली लिग खेलेर नेपाली फरवार्ड सावित्रा भण्डारी आज स्वदेश फर्किएकी छन्। इजरायली क्लब हापोएल रानानाबाट दुई नकआउट र दुई लिग खेलपछि एसियाली खेलकुदमा सहभागी बन्न सावित्रा नेपाल फर्किएकी हुन् ।

नेपाली महिला फुटबल टिमले विगत दुई महिनादेखि एसियाली खेलकुदको तयारी गरिरहेको छ । अब सावित्रा पनि एसियाडको तयारीमा रहेको नेपाली टिममा सामेल हुनेछिन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने बित्तिकै सावित्राले एसियाली खेलकुदमा जापानसँग बलियो प्रतिस्पर्धी भएको बताइन् । तर प्रतिस्पर्धाका लागि तयार रहेको उनको भनाइ छ ।

सावित्रा भन्छिन्, ‘जापान फुटबलमा एसियाको पावर हाउस मानिन्छ । त्यसैले पनि हाम्रा लागि चुनौती छ ।’

साथै, उनले युरोपेली फुटबलको अनुभव पनि साट्न भ्याइन् । अगस्टको पहिलो हप्ता इजरायल गएकी उनले रानानाबाट लिगका दुई खेलमा पाँच गोल गरिन् । रानानाले युरोपेली च्याम्पियन्स लिगको छनोट खेल्न लागेको हापोएल पेटा टिक्‍वासँग १ -१ गोलको बराबरी खेल्दा सावित्राले गोल गरेकी थिइन् ।

तीन पटक लगातार च्याम्पियन बनेको पेटा टिक्‍वाविरुद्ध बराबरी खेलेपछि सावित्राको टिम अहिलेसम्म अपराजित छ । इजरायलबाट फर्किएपछि उनले त्यहाँको लिग दक्षिण एसियाली देशको लिगसँग तुलना गर्नै नसकिने बताइन् ।

सावित्रा भन्छिन्, ‘ युरोपियन लिगको स्तर एकदमै राम्रो छ । यो अनुभवले मलाई अबको खेलमा राम्रो गर्न सहयोग गर्छ। ’

सावित्रा नेपालबाट युरोपेली लिग खेल्ने पहिलो खेलाडी हुन्। एसियाली देश भए पनि इजरायलले युरोपेली महासंघको सदस्यता लिएको छ। त्यहाँको च्याम्पियन टिमले युरोपेली च्याम्पियन्स लिगको छनोट खेल्न पाउँछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖