• Thursday 8th of October 2026

पेरिस ओलम्पिकमा ७ खेलाडीसहित ३७ जनाको नेपाली टोली जाने तयारी, प्रधानमन्त्री ओली पनि सूचीमा


  • धनकुटा खबर
  • .

काठमाडौं । आगामी साता फ्रान्सको पेरिसमा सुरु हुने ओलम्पिक खेलकुदमा ७ खेलाडीसहित ३७ जना नेपाली टोली जाने तयारी भइरहेको छ ।

पेरिसमा जुन २६ तारिखमा हुने उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका अन्य ३ जनालाई कोटा छुट्याइए पनि टुंगो लागिसकेको छैन।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले प्रधानमन्त्री ओलीको जाने नजाने टुंगो लागि नसकेको जानकारी दिए। पेरिस जाने टोलीमा खेलकुद मन्त्री तेजुलाल चौधरीको भागमा उनीसहित २ जनाको कोटा छ।

यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको भागमा उनीसहित २ जना, महासचिव निलेन्द्रराज श्रेष्ठको भागमा उनीसहित २ जनाको कोटा रहेको छ। पृथ्वीबहादुर पाण्डे नेपाल ओलम्पिक कमिटीको गेस्टका रूपमा पेरिस जाँदैछन्।

सेफ दी मिसनको जिम्मेवारी राखेप सदस्यसचिव घिसिङले सम्हाल्नेछन्। एनओसी पदाधिकारी चतुरानन्ध वैद्य ओलम्पिक एट्याचीका रूपमा जाँदैछन्। सुजनलाल श्रेष्ठ वेलफेयर अफिसरका रूपमा टिममा समावेश छन्।

प्रतियोगितामा नेपालबाट एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान, सुटिङ खेलाडी सुष्मिता नेपाल, टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ तथा पौडी खेलाडीहरु अलेक्जान्डर शाह र डुवाना लामाले खेल्दैछन्।

एथलेटिक्स प्रशिक्षक कान्तिकुमार महतो यादव, पौडी प्रशिक्षक नयना शाक्य, सुटिङ प्रशिक्षक प्रदीप खाती, जुडो प्रशिक्षक देवु थापा र टेबल टेनिस प्रशिक्षक राजेन्द्र कपाली पनि जाँदैछन्। ब्याटमिन्टनका प्रशिक्षक भने छैनन्।

यस्तै टिम अफिसियलका रूपमा अशोकरत्न बज्राचार्य, दीपकहर्ष बज्राचार्य, रामजीबहादुर श्रेष्ठ, पुष्पदास श्रेष्ठ छन्।

यस्तै ज्योति राणा, प्रकाश कुसरी र पिताम्बर तिम्सिना पनि टिम अफिसियलका रूपमा रहेका छन्। उनीहरू अधिकांश ओलम्पिक कमिटीकै पदाधिकारी हुन्।

राखेपका कर्मचारी रिखिराम पोखरेल पनि अफिसियलका रूपमा जाँदैछन्। डा. नविसमानसिंह प्रधान मेडिकल डाक्टरका रूपमा पेरिस जाने नेपाली टोलीमा छन्।

यस्तै दुई जना पत्रकार पनि पेरिस ओलम्पिकमा जाँदैछन्। राखेप सदस्यसचिव घिसिङले जुलाई २२ तारिखमा नेपाली टोली पेरिस प्रस्थान गर्ने बताए। उनीसहित ३ जना शनिवार पेरिस उड्दैछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖