• Thursday 8th of October 2026

जुडोकी मनिता पेरिस ओलम्पिकमा पराजित


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक–२०२४ को महिला ५७ केजीमुनि तौलसमूहमा सोमबार पराजित भएकी छन् । इलिमिनेसन राउन्ड अफ ३२ को प्रतिस्पर्धामा ‘म्याट’ मा १ मिनेट ०२ सेकेन्ड बिताएकी मनिता इप्पोनका आधारमा पराजित भएकी हुन् ।

पेरिसस्थित च्याम्प डि मार्स एरिनामा भएको खेलमा सर्बियाकी मरिका पेरिसिकले मनितालाई १०–० अंकले पन्छाइन् । दस वर्षको उमेरदेखि जुडो करियर सुरु गरेकी २५ वर्षीया मनिताले १२औं र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजतका साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जितेकी छन् ।

‘कन्टिनेन्टल क्वालिफिकेसन’ कोटाबाट पेरिस ओलम्पिकमा स्थान बनाएकी मनिता समग्रमा ओलम्पिक खेल्ने छैटौ नेपाली जुडो खेलाडी हुन् । मनिताअघि गंगाबहादुर डंगोल र ऋषिराम प्रधानले सन् १९८८ को सिओल ओलम्पिक, देबु थापाले सन् २००८ को बेइजिङ ओलम्पिक, फुपु ल्हामु खत्रीले सन् २०१६ को रियो दि जेनेरियो ओलम्पिक तथा सोनिया भट्टले सन् २०२० को टोकियो ओलम्पिकमा सहभागिता जनाएका थिए । पेरिस ओलम्पिकमा देबु मनिताको प्रशिक्षकको भूमिकामा छिन् ।

मनिताले इन्डोनेसियाको जकार्ता-पालेम्वाङ तथा चिनको हाङझावमा भएको क्रमशः १८औं र १९औं एसियाली खेलकुद तथा ३ विश्व जुडो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । ओलम्पिक छात्रवृत्ति प्राप्त मनीताले पेरिस ओलम्पिकमा सहभागी हुनुअघि पेरिस ओलम्पिकलाई नै मध्यनजर गरी विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी थिइन् ।

ओलम्पिक इतिहासमै पहिलोपटक रंगशाला बाहिर भएको पेरिस ओलम्पिकको उद्घाटन समारोहको मार्च पास्टमा मनिताले श्यान्टुसँग मिलेर राष्ट्रिय झण्डा बोकेकी थिइन् । ओलम्पिकको जुडोमा नेपालले हासिल गरेको ठूलो उपलब्धी नै पूरा ४ मिनेट समय ‘म्याट’ मा बिताउनु हो ।

सन् २०२३ को युरोपियन जुडो च्याम्पियनसिपकी रजत विजेता २५ वर्षीया मरिकासँग टोकियो ओलम्पिक, विभिन्न ४ आईजेएफ विश्व जुडो च्याम्पियनसिप, विभिन्न १३ वर्ल्ड टुरलगायतका अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । मरिकाकी आमा रदमिला पनि जुडो खेलाडी हुन् ।

पेरिस ओलम्पिकमा मनितासँगै ४ नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ । यसअघि पौडीकी डुवाना लामा, टेबलटेनिसका श्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपाल बाहिरिसकेका छन् ।

सोमबारै नेपालका प्रिन्स दाहालले समूह चरणको आफ्नो दोश्रो खेलमा स्थानिय समय अनुसार राति ९:१० बजे आयरल्यान्डका हात गुयेनसँग प्रतिस्पर्धा गर्ने छन् । मंगलबार हुने नेपालको एक मात्र प्रतिस्पर्धामा पौडीका एलेक्जेन्डर शाहले पुरुष १ सय मिटर फ्रिस्टायलमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖