• Thursday 8th of October 2026

फ्रान्सले अर्जेन्टिनालाई हराउँदा मैदानमा कुटाकुट


  • धनकुटा खबर
  • .

एजेन्सी । विवादास्पद खेलमा आयोजक फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिना पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। शुक्रबार राति सम्पन्न खेलमा फ्रान्ससँग अर्जेन्टिना १–० ले पराजित भएको हो।

आयोजक राष्ट्र सेमिफाइनल प्रवेश गरिरहँदा खेल सकिएपछि दुवै टोलीका खेलाडी र प्रशिक्षकहरू मैदानमा नै भिड्न पुगेका थिए । पछिल्लो समय दुई टोलीबिच तनाव बढ्दो छ । गत १४ जुलाईमा कोपा अमेरिका जितेपछि अर्जेन्टिनी खेलाडीहरूले फ्रान्सका अश्वेत खेलाडीविरुद्ध रङ्गभेदी गीत गाएको भिडियो सार्वजनिक भएको थियो ।

खेलको सुरुवातमा नै अर्जेन्टिनाका राष्ट्रिय गान बज्दा फ्रान्सका समर्थकहरूले त्यसविरुद्ध हुटिङ गरेका थिए । खेलपछि दुई टोलीबिच हात हालाहालकै स्थिति बन्यो ।

खेलको पाँचौं मिनेटमा माइकल ओलीसेको कर्नरलाई हेडमार्फत जाली चुमाउँदै जिन फिलिपे माटेटाले फ्रान्सलाई जित दिलाए । पहिलो हाफमा गुलियानो सिमियोनी अर्जेन्टिनाका लागि बराबरी गोल फर्काउने अवसरबाट चुकेका थिए । उता, खेलको अन्त्यतिर फ्रान्सले गरेको गोल भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेको थियो ।

फ्रान्सले पछिल्लोपटक सन् १९८४ मा ओलम्पिकमा स्वर्ण पदक जितेको थियो । टोलीले सोमबार हुने सेमिफाइनलमा इजिप्टको सामना गर्नेछ ।

उता, सन् १९३६ मा इटालीपछि विश्वकप र ओलम्पिक जित्ने पहिलो टोली बन्ने अर्जेन्टिनाको सपना भने चकनाचुर बनेको छ । यसै गरी जापानलाई ३-० गोलले हराउँदै स्पेन पनि प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । टोलीले सोमबार मोरक्कोसँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖