• Thursday 8th of October 2026

नेपाल प्रिमियर लिगको तयारी सुरू, कति टोलीले कहिले प्रतिस्पर्धा गर्छन्?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता आयोजनाको तयारी सुरू गरेको छ। त्यसका लागि क्यानले शुक्रबार लिगमा प्रतिस्पर्धा गर्ने टोलीको स्वामित्व ग्रहण गर्नका सूचना प्रकासित गरेको छ। क्यानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीलाई १५ दिनभित्र आफ्नो कार्ययोजना प्रस्तुत गर्न भनेको छ।

लिगमा आफ्नो टोली खरिद गर्न चाहाने कम्पनी कानुनी रुपमा नेपालमा दर्ता भएको हुनु पर्ने क्यानको भनाइ छ। विदेशी कम्पनी नेपालमा रहेको कम्पनीसँग ‘ज्वाइन्ट भेन्चर’ को रुपमा आबद्ध हुन सक्ने क्यानको भनाइ छ।

१५ दिनमा परेका आवेदनको अध्ययन गरेपछि योग्य कम्पनीलाई नेपाल प्रिमियर लिग टोलीको स्वामित्व दिनका लागि सम्झौता हुने क्यानका प्रवक्ता छुम्बी लामाको भनाइ छ। टोलीको स्वामित्व लिने कम्पनीसँग क्यानले रकम लिनेछ। टोली छनोट भएपछि खेलाडी अक्सनलगायतका बाँकी प्रक्रिया क्यानले अघि बढाउने छ।

क्यानको कार्यसमितिले नेपाल प्रिमियर लिगको सञ्चालनका लागि सचिव पारस खड्कालाई जिम्मेवारी दिएको थियो। खड्का नेतृत्वको समितिले नेपाल प्रिमियर लिगको व्यवस्थापन गर्नेछ।

क्यानले अहिलेलाई ६ वटा शहरको नाममा ६ टोलीलाई नेपाल प्रिमियर लिगमा प्रतिस्पर्धा गराउने तयारी गरेको छ। तर स्वामित्व लिन चाहाने कम्पनीको प्रोफाइल अध्ययन गरेपछि टोली थपघट गर्न सकिने क्यानको भनाइ छ।

क्यानले यसपटकको नेपाल प्रिमियर लिग मंसिर-पुसमा आयोजना गर्ने तयारी गरेको छ। त्यसअघि नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत सेप्टेम्बरमा क्यानडामा र अक्टोबरमा अमेरिकामा सिरिज खेल्दैछ। सेप्टेम्बरमा क्यानडा, नेपाल र ओमानबीच एकदिवसीय त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुनेछ। अमेरिकाले अक्टोबरमा घरेलु मैदानमा नेपाल र साविक विजेता स्कटल्यान्डसँग त्रिकोणात्मक सिरिज आयोजना गर्नेछ। यी सिरिजपछि नेपाल प्रिमियर लिगको लागि समय मिलाउन क्यानले कोशिस गरिरहेको छ।

क्यानले पहिलोपटक आफ्नै व्यवस्थापनमा फ्रेञ्चाइज लिग आयोजना गर्न लागेको हो। यसअघि क्यानले नेपाल टी-२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्रीसँग गरेको सम्झौता विवादमा परेको थियो। बेटिङ पृष्ठभूमीको उक्त कम्पनीका मालिक लिग चल्दै गर्दा भारत भागेका थिए भने लिगमा फिक्सिङ भएको समेत आरोप लागेको थियो। कतिपय खेलाडीले अझै पारिश्रमिक पाएका छैनन् भने च्याम्पियनले पुरस्कार समेत पाएको छैन।

यसअघि नीजि क्षेत्रबाट नेपालमा फ्रेञ्चाइज लिग आयोजना भएका थिए। एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगले क्यान निलम्बनको बेलामा खुबै चर्चा पाएका थिए।

एभरेस्ट प्रिमियर लिगले क्यानसँग अनुमति लिएर लिगलाई निरन्तरता दिन खोजे पनि क्यानले नेपाल प्रिमियर लिग नै नेपालको एक मात्र राष्ट्रिय स्तरको फ्रेञ्चाइज लिग हुने स्पष्ट पारिसकेको छ। यद्यपी नीजि क्षेत्रबाट हुने लिगलाई क्षेत्रीय स्तरको वा निश्चित मापदण्ड तोकेर आयोजना गर्न दिन सकिने विषयमा भने क्यानमा छलफल हुँदै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖