• Tuesday 6th of October 2026

विद्यालयको पठनपाठन तत्काल सुचारु हुने वातावरण निर्माण गर्न संयुक्त विद्यार्थी संगठनको आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं । ‘विद्यालय शिक्षा विधेयक २०८०’ विद्यार्थीकोसमेत चासो र मुख्य सरोकारको विषय भएको भन्दै विद्यालयको पठनपाठन तत्काल सुचारु हुने वातावरण निर्माण गर्न संयुक्त विद्यार्थी संगठनले आग्रह गरेको छ ।

प्रमुख राजनीतिक दलका ६ वटा विद्यार्थी संगठले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै संयुक्त विद्यार्थी संगठनको अनिवार्य सहभागितामा तत्काल सर्वपक्षीय वार्ता, छलफल र संवादमार्फत आन्दोलनरत सवै पक्षका जायज एवं न्यायिक माग सम्बोधन गर्न सरकारसँग माग गरेका हुन् ।

साथै आन्दोलनरत शिक्षक महासंघलाई पनि सरकारद्वारा बोलाइएको वार्तामा बसेर समस्या समाधानको बाटो पहिल्याउन हार्दिक अनुरोध गर्दै देशभरका ७० लाख विद्यार्थीको पठनपाठन तत्काल सुचारु हुने वातावरण निर्माण गर्न नेपाल सरकार समक्ष संयुक्त विद्यार्थी संगठनले जोडदार माग गरेको छ ।

गत भदौ २७ गते प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ‘विद्यालय शिक्षा विधेयक, २०८०’ मा व्यवस्था भएका केही प्रावधान अन्यायपूर्ण भएको भनी सरकार समक्ष विभिन्न १७ बुँदे माग राख्दै देशभरका शिक्षक नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलित भएको विषयमा संयुक्त विद्यार्थी सङ्गठनको पनि गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाइएको छ ।

साथै संविधान प्रदत्त मौलिक हकको रुपमा रहेको माध्यमिक तहसम्मको शिक्षा युग सापक्ष प्रविधिमैत्री, बैज्ञानिक, गुणस्तरीय र निशुल्क हुनुपर्ने व्यवस्था निशर्त कार्यान्वयन गर्न संयुक्त विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖