काठमाडौं । सन् २०२३ को विश्वकपअघि भारतीय क्रिकेट टोली आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ टिम बनेको छ ।
मोहाली एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै भारतीय क्रिकेट टोलीले यो स्थान हासिल गरेको हो ।
योसँगै भारतीय टोलीले इतिहास रचेको छ ।
अब भारतीय टोलीले क्रिकेटका तीनवटै फर्म्याट, टेस्ट, ओडीआई र टी–२० मा एकैसाथ नम्बर १ को वरियतामा कब्जा जमाएको छ ।
यो पहिलो पटक हो जब भारतले क्रिकेटका तीनवटै फर्म्याटमा एकै पटक नम्बर १ टिम बन्ने गौरव प्राप्त गरेको हो ।
यो स्थान हासिल गर्ने भारतीय टोली विश्वको दोस्रो टोली हो। यसअघि सन् २०१२ को अगस्टमा दक्षिण अफ्रिकी क्रिकेट टोलीले यस्तै उपलब्धि हासिल गरेको थियो।
एसिया कप जित्दा पनि भारत आईसीसी एकदिवसीय वरीयतामा दोस्रो स्थानमा थियो भने पाकिस्तान फाइनलमा नपुगे पनि पहिलो स्थानमा थियो ।
अर्कोतर्फ, भारत र अष्ट्रेलिया दुवैले नम्बर १ टोली बन्ने मौका पाएका थिए ।
दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा अस्ट्रेलियाले त्यो मौका गुमाएको थियो । अब मोहालीमा भारतसँगको तीन खेलको एकदिवसीय शृंखलाको पहिलो खेलमा पराजित भएको छ ।
अर्कोतर्फ, यो खेल जितेर भारतले आफ्नो वरियतामा ११६ अंक बढाएर पाकिस्तान (११५) लाई पछि पार्दै नम्बर १ टोली बन्यो । अष्ट्रेलिया १११ अंकसहित तेस्रो स्थानमा छ ।
अब अष्ट्रेलियाले यस शृङ्खलाका अर्को दुई खेल जित्दा पनि विश्वकपअघि आइसीसी वरियतामा नम्बर १ टोली बन्न सक्नेछैन ।
अर्कोतर्फ, यदि अष्ट्रेलियाले अर्को दुई खेल जित्यो भने पाकिस्तान र भारतको बराबरी अंक हुनेछ र पाकिस्तानी टोलीले फेरि आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ को ताज जित्नेछ।
भारतले यो सिरिज २–१ ले जित्यो भने ओडिआई वरीयतामा ११६ अंक र ३–० ले जित्यो भने ११८ अंक प्राप्त गर्नेछ ।
