• Wednesday 7th of October 2026

पलेशाका प्रशिक्षक लामालाई नियुक्तिको सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौ । पेरिस पारालिम्पिक २०२४ मा ऐतिहासिक पदक दिलाएका पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिस भएका छन्।

राखेपले बिहीबार प्रशिक्षक लामाको योगदानप्रति कदर गर्दै सरकारी सेवाका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गरेको हो। उनको प्रशिक्षणमा पलेशा गोवर्धनले पेरिसमा कांस्य पदक दिलाएकी थिइन्। त्यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो।

पलेशाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि कांस्य पदक जितेकी हुन्। स्वयम्सेवक प्रशिक्षकका रूपमा नै लामाले नेपाललाई ११ वटा अन्तर्राष्ट्रिय पदक दिलाइसकेका छन्। यो सफलतामध्ये चौथो एसियाली पारा खेलकुदमा नेपालले पहिलोपल्ट कांस्य पदक जितेको पनि छ।

विगतमा पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी तथा उनीहरूका प्रशिक्षकलाई सफलताको कदर गर्दै राखेपमा सेवा गर्ने गरी नियुक्ति दिने प्रचलन थियो। सोहीअनुरूप राखेपका सदस्यसचिव टंकलाल घिसिङले प्रशिक्षक लामाको सिफारिस गरेका हुन्।

लामा अन्तर्राष्ट्रिय लेभल–२ पारा तेक्वान्दो प्रशिक्षकसमेत हुन्। राखेपले पेरिस पारालिम्पिकमा पदक जित्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र नेपाल तेक्वान्दो संघलाई राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा व्यवस्था भएअनुसार नगद पुरस्कारका लागि पनि सिफारिस गरिसकेको छ।

नेपालले पेरिस पारालिम्पिकअघि कुनै पनि ओलम्पिकमा हालसम्म पदक जित्न सकेको थिएन। नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा ग्रीष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖