• Wednesday 7th of October 2026

सन्दीपले पाए अमेरिकाको भिसा


  • धनकुटा खबर
  • .

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ।

आईसीसी विश्वकप लिग-२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो।

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ। उक्त टोलीमा सन्दीप पनि छन्।

क्यानडामा लिग-२ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ।

केही महिनाअघि टी-२० विश्वकपका लागि सन्दीपलाई भिसा नदिएको अमेरिकाले यसपटक भने दिएको हो।

बलात्कार मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट सफाइ पाइसकेका छन्। फैसलाको पूर्णपाठ पनि आइसकेको छ।

‘अमेरिकाले सन्दीपलाई भिसा दियो’, सन्दीपनिकट स्रोतले नेपालखबरसँग बुधबार बिहान भन्यो।

त्यसो त हिजो क्यानडा टुरमा जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेपछि नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन्दीपलाई भिसाबारे अमेरिकाले ‘ग्रिन सिग्नल’ दिएको बताएका थिए।

लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले यही सेप्टेम्बर १६ र २२ मा क्यानडासँग तथा सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ।

यी दुई टोलीसँग नेपालले त्रिकोणात्मक टी-२० सिरिज पनि खेल्ने छ। सिरिजअन्तर्गत क्यानडासँग सेप्टेम्बर २८ र अक्टोबर १ तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा प्रतिस्पर्धा गर्नेछ।

त्यसपछि नेपाली टोली लिग २ अन्तर्गतकै अर्को सिरिजका लागि अमेरिका प्रस्थान गर्ने छ। अमेरिकामा घरेलु टोलीसँगै स्स्कटल्यान्डसँग प्रतिस्पर्धा हुनेछ।

क्यानले सोमबार लिग २ का लागि टोली घोषणा गरेको छ। देव खनाललाई रिजर्भ खेलाडीका रूपमा राखिएको टोलीमा अरु १५ सदस्य छन्।

रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी टोलीमा सामेल छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖