बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्ढाको आज (आइतबार) विवाह हुँदै छ । भारतीय सञ्चार माध्यम अनुसार दिउँसो १ बजे उदयपुरको लीला प्यालेसमा विवाहको औपचारिक कार्यक्रम सुरु हुनेछ । यो विवाहमा ४ राज्यका मुख्यमन्त्री र बलिउड सेलिब्रेटीसहित थुप्रै प्रमुख नेताहरू सहभागी हुनेछन् ।
परिणिती र राघव एक अर्कालाई कलेजको दिनदेखि चिन्थे तर सम्बन्ध भने सन् २०२२ मा एक पन्जाबी फिल्मको सेटबाट सुरु भयो, जहाँ राघव परिणितीलाई भेट्न पुगेका थिए । ६ महिनाअघि यी दुईलाई एक रेस्टुरेन्ट बाहिर देखेपछि यी दुईको अफेयरको खबर चर्चामा रह्यो ।
आज विवाहको विशेष अवसरमा उनीहरूको प्रेमकथाबारे जानकारी लिऔँ ।
पन्जाबी फिल्म ‘चमकिला’ को सेटबाट सुरु भयो प्रेम कहानी
राघव र परिणिती दुवै कलेजको समयदेखि नै एक अर्कालाई चिन्छन् । यी दुवै बेलायतमा पढेका हुन् । परिणितीले म्यानचेस्टर बिजनेस स्कुलबाट बिजनेस, फाइनान्स र इकोनोमिक्समा ट्रिपल अनर्स पढेकी छिन् । राघवले लन्डन स्कुल अफ इकोनोमिक्सबाट अध्ययन गरेका छन् । परिणिती र राघवलाई इङ्गल्यान्डमा इन्डिया युके आउटस्ट्यान्डिङ एचिभर्स अवार्ड पनि प्रदान गरिएको थियो । यो कार्यक्रममा दुवै पहिलो पटक भेटेका थिए । यहाँ भेट भएपछि यी दुई साथी बने र उनीहरूको दोस्ती जारी रह्यो ।
तर, उनीहरूको प्रेम सन् २०२२ मा पन्जाबी फिल्म चमकिलाको सेटबाट सुरु भयो । परिणीती पन्जाबमा यो फिल्मको सुटिङ गरिरहेका बेला राघव उनलाई भेट्न पुगेका थिए । यो भेटपछि दुई एक अर्कासँग नजिकिए ।
परिणितीले केही दिनअघि आफ्नो इन्स्टाग्राममा यो दिनबारे जानकारी दिँदै एउटा पोस्ट लेखेकी थिइन् । उनले लेखेकी थिइन्, ‘हामीले सँगै ब्रेकफास्ट गर्दा मैले बुझिसकेकी थिएँ कि अन्ततः मेरो ती व्यक्तिसँग भेट भएको छ जसको मलाई लामो समयदेखि प्रतीक्षा थियो । उनको समर्थन, ठट्टा र दोस्ती नै वास्तविक खुसी हो । उनी मेरा लागि एक घर जस्तै हुन्, अर्थात् जहाँ सबैभन्दा बढी आराम महसुस होस् ।’
