• Tuesday 6th of October 2026

पोर्क खाएको भिडिओ टिकटकमा हाल्ने हिन्दू महिलालाई दुई वर्ष जेल र २१ लाख जरिवाना


  • धनकुटा खबर
  • .

काठमाडौं । इन्डोनेसियाकी टिकटकर लिना लुत्फियावाटिसलाई सुँगुरको मासु खाएको भिडिओ बनाएर टिकटकमा पोस्ट गरेको अभियोगमा कडा सजाय सुनाइएको छ । उनलाई गत साता इन्डोनेसियाको मुस्लिम संस्था ‘उलेमा काउन्सिल’ ले दुई वर्ष जेलका साथै १६,२६९ डलर (करिब साढे २१ लाख रूपैयाँ) जरिवाना तोकेको हो ।

लिनाले विभिन्न मासुजन्य व्यञ्जनहरूको भिडिओ बनाएर टिकटकमा पोस्ट गर्ने गरेकी थिइन् । यसले नै उनलाई ख्याति दिलाएको थियो । उनले अहिलेसम्म माछा, गँगटा, शंखेकिरा, झिँगेमाछा तथा विभिन्न जनावरका मासुजन्य परिकारको भिडिओ बनाएर हालिसकेकी छन् । तर, सुँगुरको मासु खाएको भिडिओ भने उनका निम्ति महंगो पर्‍यो ।

इन्डोनेसिया मुस्लिम बाहुल्य मुलुक हो । यहाँको २५ करोड ५० लाख जनसंख्यामा झण्डै ९० प्रतिशत हिस्सा मुस्लिमहरूले ओगटेका छन् । विश्वको सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको मुलुक इन्डोनेसिया नै हो । यहाँ सुँगुर खानमात्र होइन, छुनसमेत बर्जित छ । लिना भने हिन्दू धर्मावलम्वी हुन् । उनले खान सुरू गर्नुभन्दा अगाडि ‘बिस्मिल्लाह’ भनेकी थिइन् ।

टिकटकमा लाखौं फलोअर्स भएकी लिनाले पोस्ट गरेको भिडिओले इन्डोनेसियामा हंगामा नै मच्चिएको थियो । धर्मनिरपेक्ष प्रजातान्त्रिक मुलुक भए पनि इन्डोनेसियामा ईश्वर निन्दासम्वन्धी कडा कानून छ । त्यसै अन्तरगत उनीमाथि मुद्दा लगाइएको हो । सन् २०१७ मा चुनावी अभियानका क्रममा कुरानको अपमान गरेको आरोपमा यही कानून अन्तरगत जाकार्ताका तत्कालीन गभर्नर बासुकी त्जाहाजा पुर्नामालाई दुई वर्षको जेल सजाय सुनाइएको थियो । त्यतिमात्र होइन, आफ्नो घरनजिकको मस्जिदमा लाउडस्पिकर बजाइएको भनेर गुनासो गरेकी एक बुद्धिष्ट महिलालाई यही कानूनमा टेकेर १८ महिना जेल राखिएको थियो ।

लिनाले आफ्नो गल्ती स्वीकार्दै कयौंपटक माफीसमेत मागेकी थिइन् ।उनले पत्रकारहरुसँग भनिन्, ‘मैले गलत गरिरहेको छु भन्ने थाहा थियो, तर दुई वर्षको जेल सजाय अपेक्षा गरेको थिइनँ ।’

लिना जाकार्तामा बस्छिन् भने उनको व्यवसायीक कारोबार भारतमा पनि छ । उनी टिकटकमा लिना मुखर्जीको नाममा भिडिओ पोस्ट गर्ने गर्छिन् । पोर्क खाएको भिडिओ भने उनले आफ्नो अफिसियल अकाउन्टबाट नभइ वैकल्पिक अकाउन्टबाट पोस्ट गरेकी थिइन् । भिडिओमा उनले यसअघि दुईपटक सुँगुरको मासु खाएको बताएकी छिन् । पहिलो बाइट लिएपछि उनी भन्छिन्, ‘टिकटकमा भनिएजस्तो स्वादिष्ट रहेनछ । मलाई खासै स्पेसल लागेन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖