धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय दिपक बिकको ३१ भदौमा सेती प्रादेशिक अस्पतालमा मृत्यु भयो ।
जबरजस्तीकरणी र हाड नाता करणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका बिक जिल्ला कारागारको शौचालयमा लडिरहेको अवस्थामा भेटिएपछि प्रहरीले प्रादेशिक अस्पताल पुगाएको थियो ।
तर बिकको सोही दिन उपचारकै क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । बिकको मृत्युपछि उनकी प्रेमिका १४ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले पहरी थरकी ती किशोरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।
उनकाअनुसार ती किशोरी मृतक बिककी प्रेमिका मात्र नभएर आफ्नै काकाकी छोरी भएको खुलेको छ । नातामा दाजुबहिनी पर्ने उनीहरुबीच प्रेम सम्बन्ध रहेको थियो । उनै किशोरीलाई जबरजस्तीकरणी र हाडनाता करणी गरेको मुद्दामा दिपक पुर्पक्षका लागि कैलाली कारागार चलान भए्र बन्दी जीवन बिताइरहेका थिए ।
कतिपयले बिकको कारागारभित्र कुटपिट गरेर हत्या भएको दाबी गरेपनि घटनाको वास्तविकता भने फरक रहेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले प्रारम्भिक अनुसन्धानका क्रममा बिकको सलपास नामक विषादी सेवन गरेर मृत्यु भएको देखिएको बताए ।उक्त सलपास प्रेमिकामार्फत नै कारागारभित्र रहेका मृतकको हातमा पुगेको अनुसन्धानका क्रममा देखिएको
प्रहरीको भनाई छ भने युवकको सुसाइड नोट समेत फेला परेको छ । प्रहरी स्रोतकाअनुसार ३४ पृष्ठ लामो सुसाइड नोटमा बिकले दुवै जनाले सँगै मर्ने बाचा गरेअनुसार मृत्युको बाटो रोजेको उल्लेख गरेका छन् ।
कारागारमा दिपकलाई प्रेमिकाले कसरी दिइनु सलपास ?
दाजुबहिनीबीचको प्रेम सम्बन्धबारे २०८० को फागुनमा मात्र परिवारले थाहा पाएका थिए । त्यो बेला किशोरीको पेटमा ३ महिनाको गर्भ थियो । दाजुबहिनीको अनुचित सम्बन्धलाई लिएर उनीहरुको परिवारमा तनाव सिर्जना भएको थियो ।
त्यसपछि किशोरीका परिवारले ८ फागुन २०८० मा इलाका प्रहरी कार्यालय सुखडमा जबरजस्तीकरणी र हाडनाता शिर्षकमा दिपकविरुद्ध किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका थिए । उनी सोही मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए भने किशोरीको गर्भ पतन गराइएको थियो ।
दिपक कारागार चलान भएपछि किशोरी श्रीमतीका रुपमा उनलाई भेट्न आइरहन्थिन् भने उनीहरुबीच टेलिफोनमा समेत संवाद हुने गरेको थियो । एकातिर किशोरीको पेटमा रहेको गर्भ पतन, अर्कोतिर दिपकको कारगार बसाई र आफूहरुका कारण पारिवारीक बिग्रह सिर्जना भएको विषयमा दुवै जना चिन्तित थिए ।
पक्राउ परेकी किशोरीले प्रहरीलाई दिएको बयानअनुसार यी कुराले दुवै जना सँगसँगै मर्ने निष्कर्षमा पुगेका थिए । दिपकले नै किशोरीलाई बाहिरबाट विषादी किनेर कारागारमा ल्याउन भनेका थिए ।-प्रेसपत्र
