• Saturday 7th of November 2026
  • ट्रेण्डिङ :

अमेरिकामा प्रधानमन्त्री ओलीमाथि सुरक्षा थ्रेड, निर्धारित कार्यक्रम स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौं – अमेरिकाका प्रधानमन्त्री केपि शर्मा ओलीमाथि सुरक्षा थ्रेड बढेको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणामाथि सुरक्षा थ्रेड भएपछि नेपाली समुदाय आयोजना गर्ने भनिएको स्वागत स्थगित भएको छ ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा आइतबार स्वागत तथा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी थियो । त्यसका लागि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको तस्वीर अंकित ब्यानरसहित मञ्च समेत तयार पारिसकिएको थियो ।

तर सुरक्षा संवेदनशीलता र साइडलाइन भेटवार्ताको व्यस्ततालाई कारण देखाउँदै कार्यक्रम स्थगित गरिएको छ । नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले जारी गरेको सूचनामा लेखिएको छ, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूको संयुक्त राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने वृहत कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’

महावाणिज्य दूतावासले यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट दुःख व्यक्तसमेत गरेको छ । न्यूयोर्कमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पहिचानवादी संघ संगठनहरुले कार्यक्रम स्थलमै विरोध प्रदर्शन गर्ने तयारी गरेको सूचना पाएपछि कार्यक्रम स्थगित गरिएको स्रोतले बतायो ।

उनीहरुले कार्यक्रममा सहभागी भएर कालो झण्डा देखाउन सामाजिक सन्जालमार्फत् आह्वान गरेका थिए । त्यसपछि स्थानीय सुरक्षाकर्मीहरुले भीभीआईपीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी कार्यक्रम स्थगित गर्न सुझाव दिएको थियो । सोही सुझावको आधारमा कार्यक्रम स्थगित गरिएको स्रोतले बतायो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖