• Tuesday 6th of October 2026

महिलाको शंकास्पद मृत्यु, के थियो घटना?


  • धनकुटा खबर
  • .

कालिकोटमा एक युवतीको शंंकास्पद मृत्यु भएको छ। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१ लुसा माइती घर भएकी २५ वर्षीया गीताकुमारी जैसी शाहीको शंकास्पद रुपमा भएको हो।

उनको खाडाँचक्र नगरपालिका–१ मा झुण्डिएको अवस्थमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

कालीकोटका प्रहरी नायब उपरीक्षक डीएसपी अर्जुन केसीले आइतबार बिहान शौचालयको ढोकामा झुण्डिएको अवस्थामा शंकास्पद मृत्यु जानकारी दिए।

डीएसपी केसीका अनुसार जैसीका परिवारले सुरक्षाका कारण लिन नमानेपछि उनको संरक्षण र मनोसामाजिक परामर्शका लागि सोसेक नेपाल नामक गैरसरकारी संस्थाद्वारा सञ्चालित महिला र बालबालिका केन्द्र (सेल्टर) मा राखिएको थियो।

जोखिममा रहेका महिला र बालबालिकाको उद्दार, राहत र पुनःस्थापनाका लागि सोसेकले सेल्टर स्थापना गरेर काम गर्दै आएको भएपनि जैसीलाई त्यहाँ राखिएको केही दिनमै मृत्यु भएपछि घटनालाई शंकास्पद मानिएको छ।

‘उहाँ गत भदौ २२ गते बेपत्ता हुनुभयो भनेर आफन्त आन्दोलित हुनु भएको थियो। तर, जैसी सम्पर्कमा आएपछि सुरक्षाको कारण देखाउँदै आफन्तले उहाँलाई लिन नमानेपछि हामीले संरक्षण र मनोपरामर्शका लागि सोसेक नामक संस्थामा राखेका थियौं,’ डीएसपी केसीले भने, ‘त्यहीक्रममा आज बिहान सवा नौ बजे सलको पासो लगाएर झुण्डिएको अवस्थामा शव भेटिएको खबर आयो।’

शव घटनास्थलमै रहेको र आफन्त आएपछि पोष्टमार्टका लागि प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

महिलाको हत्या वा आत्महत्या के हो भन्ने विषय अनुसन्धानपछि मात्रै खुल्ने डीएसपी केसीको भनाइ रहेको छ।

यता आफन्तले भने श्रीमानको लामो समयदेखिको मानसिक तथा शारीरिक यातना र संरक्षणमा राखिएको अवस्थामा गीताको रहस्यमय मृत्यु हुनुले आफन्तहरूले आत्महत्या नभइ हत्या भएको दाबी गरेका छन्।

महिला र बालबालिका केन्द्रमा किन राखियो?
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ लुसाका ५५ वर्षीय धनीराम जैसीको तीन वर्षअघि २८ भदौ २०७७ मा मृत्यु भयो। घरबाट स्थानीय जिते बजारतर्फ जाँदै गरेका उनी भीरबाट खसेका थिए।

आफन्त र प्रहरीले यो घटनालाई दुर्घटनाको रुपमा लिए। तर, ९ भदौ २०८० मा जैसीको मृत्युको कारण दुर्घटना नभएर भीरबाट धकेलेर मारेको भन्ने खुल्यो।

दैलेखको भगवतीमाई गाउँपालिका–५ कट्टीका स्थानीय दानबहादुर शाहीले गीता जैसीसँग अवैध सम्बन्ध राखेर एक छोरासमेत जन्माएका थिए। उनी कालीकोट सदरमुकाम मान्म बस्दै आएका थिए।

माइती पक्षले आफ्नी छोरीको जिम्मा लिन दानबहादुरलाई दबाब दिएका थिए। शाहीले गर्भ बसिसकेकाले कान्छी श्रीमतीका रूपमा स्वीकार पनि गरेका थिए। छोरा जन्मेसँगै शाहीले कान्छी श्रीमतीलाई शारीरिक तथा मानसिक हिंसा दिन सुरु गरे।

छोरीलाई हिंसा गरेको माइती पक्षलाई मन परेन। गीताका माइती पक्षले हिंसा नगर्न र अति गरे कानुनी निकायमा पुग्ने चेतावनी दिएका थिए। हिंसा बढ्दै गएपछि गीताका माइती पक्षले दानबहादुर अर्थात् श्रीमानविरुद्ध गीतालाई नै प्रहरीमा उजुरी गर्न लगाए।

आफूलाई प्रहरीमा उजुरी गरेको र गीताले पनि अदालतमा अंशवण्डाको मुद्दा दर्ता गराएपछि भने उनका बुवाको मृत्युको कारण खुल्न पुग्यो।

एमाले कालीकोट पार्टी कार्यालय सचिवसमेत रहेका शाहीले आफ्नो कान्छी श्रीमतीलाई म्यासेन्जरमार्फत मुद्दा फिर्ता नलिए बुवा (ससुरा)लाई जस्तै केटाहरु प्रयोग गरेर आमा–छोराको हत्या गर्ने धम्की दिन थालेका थिए।

बारम्बारको श्रीमानले म्यासेन्जरमार्फत दिएको धम्कीसहित उजुरी लिएर गीता प्रहरी जिल्ला प्रहरी कार्यालय कालीकोट पुगिन्।

प्रहरीले उनको उजुरी दर्ता गर्न मानेन्। म्यासेन्जरमार्फत ससुरालाई आफूले मान्छे लगाएर मारेको बताएपछि गीताका दाजु गौरी जैसीले भदौ ९ गते कर्तव्य ज्यान मुद्दा प्रहरीमा दर्ता गराए।

प्रहरीले उनलाई गत भदौ १० गते पक्राउ ग¥यो। प्रहरीले दानबहादुरलाई पक्राउ गरेसँगै उनकी कान्छी श्रीमती गीता र छोरा भदौ २० मा कोठाबाट हराएका थिए।

उनीहरु हराएको तीन दिनपछि नेपालगन्जमा भेटिए। त्यसबेला गीताका आफन्तले दानबहादुरले नै आमा–छोरालाई ‘गायब’ बनाएको आरोप लगाएका थिए।

गीता बेपत्ता भएपछि आफन्तले दानबहादुरले नै श्रीमती र छोरालाई गायब बनाएको भन्दै भदौ २२ गते दिनभर जिल्ला प्रहरी कार्यालय कालीकोटमा धर्नासमेत दिएका थिए

गीताको जिल्ला अदालत कालीकोटमा सम्बन्ध विच्छेद र अंशबन्डाको मुद्दा चलिरहेको छ।-नेपाल खबर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖