• Saturday 7th of November 2026
  • ट्रेण्डिङ :

सरकारलाई रास्वपा कार्यकर्ताको चेतावनी– हामी हातमा दही जमाएर बस्दैनौँ


  • धनकुटा खबर
  • .

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन गरेको छ । साेमबार सहकारी पीडितको न्यायलाई अघि सारेर उनीहरुले रविको बचाउमा प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय अगाडी रास्वपाका नेता कार्यकर्ताहरू भेला भएर सहकारी पीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन् । रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने हल्ला सुनेर रास्वपा नेता कार्यकर्ताहरू पोखरा भेला भएका छन् ।

उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘फासिस्ट सरकार मुर्दावाद’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ जस्ता नारा लगाएका छन् । कार्यक्रमका वक्ताहरूले रविलाई सरकारले फसाउने षड्यन्त्र गरेको भन्दै त्यसको प्रतिवाद गर्ने उद्घोष गरेका छन् ।

‘सहकारी पीडितले न्याय नपाउँदासम्म अभियान चलाउने छौँ । आज पोखराबाट सुरु गरेका छौँ, भोलि जिल्ला जिल्लाबाट निलो क्रान्ति उर्लिने छ,’ रास्वपा नेतृ दुर्गा रञ्जितले भनिन्, ‘रवि लामिछानेलाई फसाउन खोजिएको छ । तर हामी त्यसको प्रतिवाद गर्नेछौँ । जनताको सेवामा लागि पर्नेछौँ ।’

रास्वपा कास्कीका सह संयोजक राजु राईले रविलाई फसाउन खोजे कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । ‘सरकारले के खोजिरहेको छ ? नयाँ शक्तिलाई लाञ्छना लगाएर आफ्नो कर्तुत लुकाउन र रजगज कायम गर्न लागेको छ,’ उनले भने, ‘यदि हाम्रा सभापति विरुद्ध सरकार नियतवश आएको हो भने हामी पनि हातमा दही जमाएर बस्दैनौँ ।’

उनीहरुले कांग्रेस उपसभापति धनराज गुरुङलाई कारबाहीको माग गरेका छन् । रास्वपा पोखरा १८ का सभापति गोविन्द गौतमले रविमाथि कारबाही गर्ने अधिकार अहिलेको सरकारसँग नभएको बताएका छन् । ‘रविलाई कारबाही गर्ने अधिकार सरकारलाई छैन । यदि कारबाहीको लागि मुद्दा हाल्ने हो भने जीवी राईले हाल्न पाउँछन्,’ उनले भने, ‘जीवी र रविलाई आमनेसामने सरकारले गराओस् । विषय त्यहीँबाट टुङ्गिन्छ ।’

प्रदेश सभापति राजन गौतमले सरकारले गरेको षड्यन्त्र विरुद्ध प्रदर्शन गरेको बताए । ‘यतिबेला हाम्रो सभापतिलाई षड्यन्त्र हुँदैछ । यसको विरोधमा हामी निरन्तर कार्यक्रम गर्नेछौँ । षड्यन्त्रको विरुद्धमा हाम्रो लडाइँ हो,’ उनले भने, ‘रास्वपा र रविको लोकप्रियता देखेर अत्तालिएकाहरु हामीलाई सिध्याउनका लागि कम्मर कसेर लागेका छन् । होसियार, यहाँ लाखौं रवि लामिछानेको जन्म भैसकेको छ । एक जनालाई सिध्याएर रास्वपाको अभियान सकिँदैन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖