• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

अबका निर्वाचनमा माओवादीले एकल उम्मेदवारी दिने अध्यक्ष प्रचण्डको उद्घोष


  • धनकुटा खबर
  • .

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने उद्घोष गरेका छन्।

नेकपा माओवादी केन्द्र दोलखा–काठमाडौँ सम्पर्क–समन्वय समितिले आज आयोजना गरेको छलफलमा उनले विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताए।

उनले अब एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको आरम्भ आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने बताए। आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानप्रति जनतामा नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा एक्लै विजयी हुनेगरी अभियान थाल्ने बताल्ने।

जनताले माओवादीप्रति देखाएको आशा र आकर्षणलाई सङ्गठन निर्माण र जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ।

हालैको अविरल वर्षाका कारण उत्पन्न सङ्कट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको जानकारी दिंदै उनले जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने उल्लेख गर्दै उनले प्राकृतिक विपत्तिको घडीमा आफ्नो पार्टीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताए।

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीको सिङ्गो केन्द्रीय समिति अध्यक्ष दाहालको नेतृत्वमा एकताबद्ध रहेको उल्लेख गर्दै आगामी केन्द्रीय समितिको बैठकले सङ्गठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖