• Tuesday 6th of October 2026

अजङको सिमलको रुखको फेदमा बस्ने देवी-बालकन्या देवी


  • धनकुटा खबर
  • .

रामेछाप । अजङको सिमलको बोट । सायद यस भेगकै ठुलो होला ।
सिमल बोटको फेदमा सानो मन्दिर । मन्दिर भित्र त्रिसुल गाडेर सिमलकै फेदमा हुन्छ नियमित पूजाआजा । स्थानीयले सिम्लेकी देवी भन्छन् । तर वास्तविक नामा चाहिँ बालकन्या देवी ।

सिमलको फेदकी देवी भएकाले सिम्ले देवी भनि पुकारेको हुनसक्ने भनाई छ । तिनै देवीको नामबाट नजिकै बग्ने खोलाको नाम समेत सिम्ले खेला रहेको छ ।

रामेछापको रामेछाप नगरपालिका–८ बाबियाखर्कमा रहेकी बालकन्या देवीलाई स्थानीय सो भेगकै शक्तिपिठ मान्छन् । स्थानीयवासी केही आपत् विपत् पर्यो भने सिम्लेकी देवी बालकन्यालाई पुकार्छन् र संकट टरेको विश्वास गर्दै भाकल पूजा गर्न पुग्छन् ।

बाबियाखर्क, भंगेरी, रामेछाप, मन्थली, सुनारपानी लगायतका क्षेत्रका मानिसहरू बालकन्या देवीको मन्दिरमा नियमित दर्शन गर्न जान्छन् । तर दशैँको बेलामा भने मन्दिरमा भक्तजनहरूको बाक्लो उपस्थिति हुने गर्दछ । विभिन्न भाकल पूजा गर्न दशैँको बेलामा मानिसहरू मन्दिरमा जाने स्थानीय मकरबहादुर राय बताउँछन् । ‘सिम्ले देवी माथि मानिसहरूको आस्था र विश्वास छ, त्यसैले दर्शन र भाकल पूजा गर्न आइरहन्छन्’, रायले भने ।

बाहिरबाट देवीको शिला नदेखिए पनि सिमलको जराको च्यापमा देवीको शिला रहेको सो मन्दिरमा नियमित पूजा गर्दै आएकी गङ्गा राय बताउँछिन् । आफूले सुरु सुरुमा बाहिरै पूजा गर्ने गरेको भए पनि सपनामा जराको च्यापमा शिला भएको देखेपछि बिहान गएर खोजी गर्दा सिला फेला परेको उनले बताइन् । ‘सपनामा तिमीहरूले बाहिर पूजा गरेको मैले पाइन, म भित्र छु भनेर भनेर देवीले भन्नुभयो, नभन्दै बिहान गएर यसो खोतलेर हेर्दा चेपमा सानो शिला देखियो, अहिले त्यही शिलामा पर्ने गरी पूजा गर्ने गरेकी छु, त्यस पछि त्यस्तो सपना देखेको छैन’ रायले भनिन् ।

किंवदन्ती अनुसार डुङ्गा बनाउनको लागि मन्थलीका सात भाइ माझी सो सिमल काट्न पुगेछन् । धूप, पूजा गरेर गएका मध्ये जेठाले सिमल काट्न बञ्चरो हान्दा रुखबाट रगतको छिर्का निस्किएर उनलाई भिजाए छ । बञ्चरो हान्ने माझीको पनि त्यही सिमलकै फेदमा ज्यान गए छ । सोही कुरा गाउँमा फैलिएपछि सिमलको फेदमा देवीको बास भएको भनि स्थानीयले पूजा आरम्भ गरिएका हुन् । अहिले पनि बन्चराले लगाएको चोट सिमलको फेदमा देख्न सकिन्छ ।

अर्को किंवदन्ती अनुसार गोठालाहरू गाई चराउन जाँदा सो सिमलको फेदमा एक अति सुन्दरी कन्या कपाल कोरेर बसेको देखेछन् । उनीहरूले सोध्दा ती कन्याले आफू रायमाझीकी छोरी भएको र मानिसको कोखमा जन्मिएकी बालकन्या भएको बताइछन् । गोठालासँग कुरा गर्दा गर्दै ती कन्या त्यहीँ अलप भइछिन् । त्यो हल्ला गाउँमा पुगेपछि गाउँलेहरूले बालकन्या नाम राखेर पूजा गर्न लागेको किंवदन्ती पनि छ ।

बालकन्या देवी रहेको सिमलको बोटमा अहिले पनि कहिलेकाहीँ मध्यरातमा घण्ट बजेको सुनिने गरेको स्थानीय बताउँदछन् । देवीको शक्तिको कारण त्यसो भएको स्थानीयको विश्वास छ ।

पहिला माटोको सामान्य गाह्रो र छाने नभएको मन्दिरमा अहिले स्थानीय इँटाको गाह्रो लगाएर जस्ताले छानो छाएका छन् । मन्दिरको बाहिर बस्ने ठाउँको लागि ट्रस्ट बनाइएको छ भने पानीको ट्याङ्की, सिँढी लगाएका संरचना बनाएका छन् ।

रामेछापको सदरमुकाम मन्थलीबाट यातायात साधनमा २० मिनेटमा सिम्ले पुगिन्छ । पैदल जाँदा पनि एक घण्टामा सिम्ले पुग्न सकिन्छ । रामेछाप बजारबाट पनि त्यति नै समयमा सिम्ले आइपुगिन्छ ।

गाउँको छेउमा सानो जङ्गलको बिचमा रहेको देवस्थान निक्कै मनोरम र शान्त छ । प्रकृतिको आनन्द लिने र योग, ध्यान गर्नेका लागि सो स्थान निक्कै उपयुक्त छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖