• Sunday 4th of October 2026

‘सापू’का बिरामी बढे


  • धनकुटा खबर
  • .

गण्डकी, १८ असोज (रासस) ः पोखरा आसपासमा आँखाको रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामी बढेका छन् । महिनादिनमा २६ जनामा ‘सापू’को सङ्क्रमण भेटिएको पोखरास्थित हिमाल आँखा अस्पतालले जनाएको छ ।

“यस वर्षको पहिलो बिरामी पहिचान गत भदौ २४ गते भएको हो, गएको मङ्गलबारसम्ममा २६ जनामा सापू देखिएको छ”, अस्पतालका मेडिकल निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा इलिया श्रेष्ठले भन्नुभयो, “सङ्क्रमण विस्तारै बढ्दो क्रममा छ ।”

उहाँका अनुसार सो अस्पतालमा गोरखा, तनहुँ, म्याग्दी, बागलुङ, स्याङ्जालगायत ठाउँका बिरामी उपचाररत छन् । सात महिनाको शिशुमासमेत उक्त रोेगको सङ्क्रमण देखिएको डा श्रेष्ठले बताउनुभयो ।

“सङ्क्रमणले आँखा जटिल अवस्थामा पुगेका बिरामीको पनि हामीले उपचार गरिरहेका छौँ, कोही निको भएर घर फर्किसक्नुभएको छ”, उहाँले भन्नुभयो, “बेलैमा उपचार भएमा यो रोग निको हुन्छ, नत्र दृष्टि नै गुम्ने खतरा रहन्छ ।”

वर्षायाम सकिएपछि नेपालको मध्यपहाडी क्षेत्रमा ‘सापू’को सङ्क्रमण फैलने गरेको डा श्रेष्ठले उल्लेख गर्नुभयो । विशेष गरि असोजदेखि मङ्सिरसम्म ‘सापू’ले प्रकोपको रुप लिने गरेको उहाँको भनाइ छ । पहिलोपटक सन् १९७५ मा पोखराको नारायणटारमा ‘सापू’ रोग भेटिएको थियो ।

नेत्ररोग विशेषज्ञ डा मदन उपाध्यायले यो रोग पत्ता लगाउनुभएको थियो । बर्सेनि पोखरा र आसपासका क्षेत्रमा यो रोगको सङ्क्रमण बढी देखिने गरेको हिमालय आँखा अस्पतालले जनाएको छ । बत्तीमा झुम्मिने कालो धर्सा भएको सेतो पुतलीको सम्पर्कबाट ‘सापू’ रोग लाग्ने गरेको डा श्रेष्ठले बताउनुभयो ।

“सापूको रोगको एकिन कारण अझै पत्ता लागेको छैन, सेतो पुतलीको रौँ आँखामा पुग्दा यसको सङ्क्रमण हुने गरेको छ”, उहाँले भन्नुभयो, “लक्षण देखिएको ४८ घण्टाभित्र उपचार नपाए दृष्टि नै गुम्न सक्छ, यो रोगबारे समुदायमा सचेतनाको जरुरी छ ।”

जटिल अवस्थाका बिरामीलाई आँखाभित्र औषधिको सुइँ लगाएर शल्यक्रियामार्फत उपचार गर्ने गरिएको चिकित्सक बताउँछन् । उक्त रोगबाट जोगिन स्वास्थ्य सजगता अपनाउनुपर्ने नेत्र सहायक गणेश महतोले बताउनुभयो । ‘सापू’को सङ्क्रण भएमा आँखा रातो हुने, उज्यालोमा हेर्न गाह्रो हुने, आँखाको गेडी दुख्ने, दृष्टि क्षमता कमजोर हुने जस्ता लक्षण देखिने गरेको उहाँको भनाइ छ ।

“रातिमा धेरै उज्यालो बत्ती बालेर नसुत्ने, हात या कुनै माध्यमबाट सेतो पुतलीको सम्पर्कका नजाने, झुलभित्र सुत्ने गरेमा सापूको सङ्क्रमणबाट जोगिन सकिन्छ”, उहाँले भन्नुभयो, “सापूको शंकास्पद लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिएर उपचार सुरु गर्नुपर्छ ।”
–––

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖