• Friday 9th of October 2026

अन्तिम बलमा दुई रन लिँदै विनोद भण्डारीले प्रहार गरे कीर्तिमानी शतक


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका छन्।

आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली प्रदेशविरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको आर्मीका लागि भण्डारीले नटआउट १०० रन जोडेका हुन्। जारी प्रतियोगितामा उनको यो दोस्रो शतक हो भने समग्र प्रधानमन्त्री कपमा उनको तेस्रो शतक हो।

यससँगै उनी प्रधानमन्त्री कपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन्।

उनले आइतबार इनिङ्ग्सको अन्तिम बलमा दुई रन लिएर शतक प्रहार गरेका थिए। उनले शतक पूरा गर्ने क्रममा १३२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।

जारी प्रधानमन्त्री कपमा यो नवौं शतक हो। विनोदले दुई शतक हिर्काउँदा मधेसका मयन यादव र अनिल शाह, सुदूरपश्चिमका नरेन भट्ट, बागमतीका आशुतोष घिरोइया, कोशीका सुजन थपलिया, नेपाल एपिएफका सन्दीप जोरा र नेपाल पुलिसका रशिद खानले यो संस्करणमा शतक प्रहार गरिसकेका छन्।

आइतबार आर्मीका लागि विनोदसँगै बासिर अहमदले पनि उत्कृष्ट ब्याटिङ गरे। उनी भने २ रनले शतक बनाउन चुके। नटआउट ९८ रन बनाएका उनले ९२ बलमा १२ चौका र १ छक्का प्रहार गरे।

विनोद र बासिरको उत्कृष्ट ब्याटिङमा आर्मीले कर्णालीविरुद्ध ५ विकेटको क्षतिमा २७९ रन जोड्यो।

आर्मीका ओपनरद्वय इमरान शेख ५ रन र सन्तोष कार्की ११ रनमा आउट भए। यस्तै भीम सार्की २५ रन, विवेक यादव ६ रन र कुशल मल्ल २१ रनमा आउट भएपछि आर्मीलाई दबाब परेको थियो। तर विनोद र बासिरले नटआउट १६९ रनको साझेदारी गर्दै आर्मीका लागि बलियो योगफल बनाए।

बलिङमा कर्णालीका दीपेन्द्र रावतले दुई विकेट लिन सफल भए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖