• Friday 16th of October 2026

विद्यालयको रकम ऋणमा दिने प्रधानाध्यापक सहितका व्यक्ति भ्रष्टाचारमा दोषी ठहर


  • धनकुटा खबर
  • .

काठमाडौँ । विद्यालयको रकम ऋणमा लगानी गरी हिनामिना गरेको अभियोगमा विशेष अदालतले ३ जनालाई दोषी ठहर गरेको छ । अख्तियारले दायर गरेको भ्रष्टाचारको मुद्दामा विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित ३ जना दोषी ठहर भएका हुन् ।

विशेष अदालतका न्यायाधीशत्रय खुसी प्रसाद थारु, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बिहीबार भ्रष्टाचार मुद्दामा ३ जनालाई दोषी ठहर गरेको हो । विशेष अदालतका प्रवक्ता धन बहादुर कार्कीका अनुसार रुकुमको साइकुमारी आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितका व्यक्तिविरुद्ध दायर मुद्दामा आंशिक ठहर भएको हो ।

विद्यालयको रकम विभिन्न व्यक्ति तथा संस्थालाई ऋण दिएर फिर्ता नगरी राज्यलाई हानी नोक्सानी पुराएको कसुरमा अख्तियारले विद्यालयका प्रधानाध्यापक लाल बहादुर केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर केसी, विद्यालय व्यवस्थापन समितिका तत्कालीन सदस्य तथा बागबजार पैयाचौर रावलबारा थर्पु डिक्रे सडक उपभोक्ता समितिका कोषाध्यक्ष माया केसी र उपभोक्ता समितिका अध्यक्ष द्रोणबहादुर खत्रीविरुद्ध ८ लाख ९४ हजार रुपियाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

भ्रष्टाचारको मुद्दा दायर भएकामध्ये द्रोण बहादुर खत्रीको मृत्यु भइसकेको कारण उक्त रकम निजको सम्पत्तिको हकवालाबाट असुल गर्ने उद्देश्यले उनका पत्नी पुतला खत्रीलाई पनि प्रतिवादी बनाइएको थियो ।

विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य आदिको मिलेमतोमा विद्यालयको रकम सडक निर्माणमा लगाएको तथा ऋण दिएको तर उक्त रकम फिर्ता नभएको कारण सरकारलाई हानी नोक्सानी भएको थियो । कुल ८ लाख ९४ हजार बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर भएकामा तत्कालीन प्रधानाध्यापक लाल बहादुर केसी र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष गोविन्द बहादुर केसीलाई दोषी ठहर गरी जनही ४ लाख ४७ हजार जरिवाना तथा ६ महिना कैद सजाय सुनाइएको छ ।

त्यस्तै प्रतिवादी बनाइएका द्रोण बहादुर खत्रीको मृत्यु भइसकेको कारण उनको हकमा हिनामिना भएको रकममध्ये दामासायीले हुने २ लाख ८२ हजार ६६६ रुपैयाँ श्रीमती पुतला खत्रीबाट असुल गर्ने गरी फैसला भएको छ । प्रतिवादी बनाइएका विद्यालय व्यवस्थापन समितिका तत्कालीन सदस्य तथा सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष माया केसीलाई भने सफाइ दिइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖