• Friday 16th of October 2026

कलेजो दान दिएर ज्वाइँले बचाए सासूको ज्यान


  • धनकुटा खबर
  • .

कलेजोको गम्भीर रोगबाट ग्रसित सासूलाई कलेजो दान गरेर एक ज्वाइँले सासूको ज्यान बचाएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ज्वाइँले कलेजो दान दिएर सासूको ज्यान बचाएका हुन् ।

गत फागुन २१ गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजोको गम्भीर समस्याबाट ग्रसित ६५ बर्सिया लक्ष्मीदेवी श्रेष्ठलाई उनका ज्वाइँ ४५ वर्षीय श्रीकृष्ण मानन्धरले आफ्नो कलेजो दान गरेका हुन् । २१ गते सोमबार केन्द्रले कलेजोको २२ औँ प्रत्यारोपण गरेको थियो ।

केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले सो प्रत्यारोपण गरेको थियो । कार्यकारी निर्देशक डा. श्रेष्ठका अनुसार कलेजो दान लिने सासू र दान दिने ज्वाइँ दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने संस्था हो । भक्तपुरका बलराम नागालाई उनकी ४२ बर्सिया दिदीले कलेजो दिई कलेजो प्रत्यारोपणको सुरुवात भएको थियो । त्यसपछि हालसम्म २२ पटक कलेजो प्रत्यारोपण भएको केन्द्रले जनाएको छ ।

नेपालमै सबैभन्दा धेरै मिर्गौला तथा कलेजो प्रत्यारोपण गर्ने केन्द्र समेत रहेको शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा हालसम्म १ हजार २१२ जनाको मिर्गौला प्रत्यारोपण र २२ जनाको कलेजो प्रत्यारोपण भएको छ । त्यहाँका निर्देशक श्रेष्ठ पनि नेपालमै सबैभन्दा धेरै मिर्गौला तथा कलेजो प्रत्यारोपण गर्ने शल्य चिकित्सक हुन् । उनले नेपालमा हालसम्म करिब १ हजार ३ सय जनामा मिर्गौला प्रत्यारोपण गराएका छन् ।

यस वर्ष मात्रै केन्द्रमा २ सय जनाको मिर्गौला प्रत्यारोपण र १४ जनाको कलेजो प्रत्यारोपण गरिएको छ । संसारमै सबै भन्दा सस्तो शुल्कमा सबैभन्दा जटिल मानिएको कलेजो प्रत्यारोपणमा केन्द्रलाई ९० प्रतिशतभन्दा बढी सफलता मिलेको छ भने मिर्गौला प्रत्यारोपणमा ९९ प्रतिशतभन्दा बढी सफलता मिलेको केन्द्रले जनाएको छ ।

२०७३ मङ्सिर २२ गते दक्षिण कोरियाको सामसुङ मेडिकल सेन्टरका चिकित्सकहरूको प्राविधिक सहयोगमा पहिलो पटक केन्द्रमा कलेजो प्रत्यारोपण भएको थियो । त्यसपछि भारतका विशेषज्ञ चिकित्सकहरूको सहयोगमा कलेजो प्रत्यारोपणले निरन्तरता पाएकामा विगत केही समयदेखि भारतीय चिकित्सकको प्राविधिक सहयोग न्यून रहेको भए पनि नेपाली डाक्टरहरूकै मिहेनतमा प्रत्यारोपण भइरहेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला तथा कलेजो प्रत्यारोपण मात्र नभई अंगदान सम्बन्धी व्यापक प्रचार प्रसार तथा देश भरी डायलाइसिस बिस्तार गर्न सहयोग पु–याउनुका साथै सातै प्रदेशका सरकारी स्वास्थ संस्थामा प्रत्यारोपण सेवा बिस्तार गर्ने तयारी गरेको छ । केन्द्रको प्राविधिक सहयोगमा गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश अन्तर्गतको सुर्खेत प्रादेशिक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भइसकेको छ । सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठा हेटौँडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै मधेस प्रदेशको वीरञ्जमा समेत प्रत्यारोपणका लागि तयारी भइरहेको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖