• Sunday 18th of October 2026

भूकम्पविद् भन्छन् : नेपालमा दैनिक १० भन्दा बढी पटक भूकम्प जान्छ!


  • धनकुटा खबर
  • .

काठमाडौँ : आज (शनिबार) बिहानै कास्कीमा ४.० म्याग्निच्युडको भूकम्प गयो।बिहान ७ बजेर ३० मिनेटमा कास्कीको पार्से केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो क्षति गर्ने खालको भूकम्प होइन।‍

त्यसैले यसको धक्का त्यही केन्द्रबिन्दु आसपासका क्षेत्रमा मात्र महसुस भयो।उनका अनुसार नेपालमा भूकम्प मापन केन्द्रले रेकर्ड गर्न मिल्ने खालका औसत रूपमा दैनिक १० पटकसम्म भूकम्प जान्छन्।

‘नेपालमा वर्षभरिमा जाने भूकम्पको संख्या हेर्दा यहाँको प्रविधिले रेकर्ड गर्न सक्ने औसत दैनिक १० पटकसम्म भूकम्प गइरहेको हुन्छ’, उनले भने, ‘हामीकहाँ उपलब्ध प्रविधिले २ म्याग्निच्युडभन्दा माथिका भूकम्प मात्र रेकर्ड गर्न सकिन्छ, यसभन्दा मुनिका ससाना भूकम्प त कति जान्छन् कति!’

भूकम्प मापन केन्द्रले २ म्याग्निच्युडदेखि माथिका भूकम्प रेकर्ड गरिरहे पनि आफूहरूले चाहिँ ४ म्याग्निच्युडदेखि माथिका भूकम्प मात्र सार्वजनिक गर्ने गरेको वरिष्ठ भूकम्पविद् डा.अधिकारीले बताए।
‘नेपालमा दैनिक भूकम्प जानु भनेको सामान्य भाषामा यहाँ भूकम्प जाने शक्ति छ भनेर बुझ्नुपर्छ’, उनले भने, ‘थोरै शक्तिको भूकम्प जाँदा सानो जान्छ भने अलि धेरै शक्तिको भूकम्प जाँदा ठूलो भूकम्प जाने हो।’

भूकम्पविद्हरूका अनुसार पृथ्वीमा प्रमुख सातवटा टेक्टोनिक प्लेट छन्। ती प्लेट सँगै हिँडिँरहेका हुन्छन्। जब ती प्लेट आपसमा ठोक्किन्छन् तब पृथ्वीमा भूकम्प जान्छ। दुईवटा प्लेट जुन ठाउँमा ठोक्किन पुग्छन्, त्यो ठाउँमा सबैभन्दा ठूलो भूकम्प जान्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖