• Friday 16th of October 2026

पठाओ चढ्दा चिनजान, नुवाकोट लगेर कोर्ट म्यारिज गर्ने भन्दै शारीरिक सम्बन्ध, त्यसपछी यस्तो भयो…


  • धनकुटा खबर
  • .

काठमाडौं । पठाओ गर्दा सम्पर्कमा आएका सेवाग्राहीसँग प्रेम सम्बन्ध भएर धोका खाएपछि एक युवती बलात्कारको उजुरी लिएर प्रहरीकहाँ पुगेकी छिन् ।

प्रहरीका अनुसार जाहेरवाला युवती गाउँमा प्लस टुसम्मको अध्ययन गरेर विदेश जाने तयारीका लागि काठमाडौं आएकी थिइन् । विदेश नजाउञ्जेल केही काम गर्ने सोचेर उनले पठाओ चलाउँदै आएको प्रहरीले जनाएको छ । त्यसैक्रममा जाहेरवाला रमिला (नाम परिवर्तन) को आरोपी रमेशसँग (नाम परिवर्तन) सेवाग्राहीको रूपमा भेट भएको थियो । छुट्टिने बेला उनीहरूले मोबाइल नम्बर साटासाट गरेका थिए ।

रमिलाको भनाइ अनुसार रमेशले आफ्नो क्यानडाको भिसा लागेको भन्दै डिपेन्डेन्टमा जाने प्रस्ताव गरेका थिए । पटकपटक फोन गरेपछि गत असारमा आफूले भेटेर कुराकानी गरेको उनले बताएकी छिन् । भेटका क्रममा रमेशले १० लाख रूपैयाँ निकाल्न भनेपछि विभिन्न मितिमा रकम दिएको पनि जाहेरीमा उल्लेख छ । त्यसबीचमा उनीहरू दिनहुँ भेट्न थालेका थिए ।

रमिलाका अनुसार रमेशले उनलाई नुवाकोट लगेर कोर्ट म्यारिज गर्ने आश्वासन दिँदै शारीरिक सम्बन्धको प्रस्ताव गरे । तर, आफूले विवाहपछि मात्र त्यो सम्भव हुने बताएपछि क्यानडा पनि नलैजाने र पैसा पनि फिर्ता नगर्ने बताएकाले आफू शारीरिक सम्बन्धका लागि तयार भएको उनको भनाई छ ।

त्यसयता आफ्नो नग्न फोटो र भिडिओ बनाएर ब्ल्याकमेलिङ गर्दै रमेशले पटकपटक सम्बन्ध राखेको जाहेरवालाको दाबी छ । अन्तिमपटक गत पुस १ गते पैसा फिर्ता दिन्छु भनि बोलाएर आफ्नै डेरामा शारीरिक सम्बन्ध राखेको उनले बताएकी छन् । रमेशको दुईवटा नागरिकता भएको जानकारीसमेत पाएको उनले जाहेरीमा लेखेकी छन् ।

के भन्छन् आरोपी ?

जाहेरीपछि पक्राउ परेका रमेशको बयान युवतीको भन्दा फरक छ । आफू वैदेशिक रोजगारीमा जान काठमाडौंमा बसेर तयारी गरिरहेको बेला चेक बाउन्सको उजुरी गर्न काठमाडौं प्रहरी परिसर जाँदा जाहेरवालासँग चिनजान भएको उनले उल्लेख गरेका छन् ।

रेस्टुरेन्ट व्यवसाय सुरू गर्ने भन्दै एक व्यक्तिको आश्वासनपछि आफूले ८ लाख रूपैयाँ दिएको र उक्त रकम ती व्यक्तिले नफर्काएपछि पर्याप्त रकम नभएको चेक दिएर आफूलाई झुक्याएको प्रहरीको अनुसन्धानमा उनले बताएका छन् । त्यसैक्रममा उजुरी दिन पठाओ गर्नेक्रममा जाहेरवालासँग सम्पर्क भएको उनको जिकिर छ ।

रमेशका अनुसार त्यसको तीन-चार दिनपछि रमिला आफैले उनलाई सम्पर्क गरेकी थिइन् । त्यसक्रममा घरायसी कुरा हुँदै उनले विदेश जाने तयारी गरिरहेको रमिलाले बताएकी थिइन् । आफूले क्यानडा जान आईईएलटीस गरिरहेको बताएपछि रमिलालाई डिपेन्डेन्टमा लैजान प्रस्ताव गरेको उनको भनाइ छ ।

क्यानडा जान २५ लाख रूपैयाँ लाग्छ भनेपछि रमिलाले १० लाख रूपैयाँसम्म सहयोग गर्छु भनेर ७ लाख २० हजार रूपैयाँ नगदै उपलब्ध गराएको रमेशले अनुसन्धानका क्रममा स्वीकारेका छन् । आफूहरूबीच प्रेम सम्बन्ध रहेको र आपसी सहमतिमै शारीरिक सम्पर्क पनि हुने गरेको उनको भनाई छ ।

आफू दलित भएको कुरा जाहेरवालालाई थाहा हुन नदिन साइबरमा गएर नागरिकता एडिट गरी गैरदलित बनाएको तर आर्थिक कारोबार नमिलेपछि मिलाउन खोज्दा चेक देखेर जाहेरवालाले वास्तविक परिचय चाल पाएको उनले बयानका क्रममा बताएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖