• Sunday 18th of October 2026

प्रहरी अधिकृतलाई रविको निर्देशन: तस्कर,गुण्डा र अपराधीसँग उभिएर हात मिलाएको दृश्य देख्नु नपरोस्


  • धनकुटा खबर
  • .

काठमाडौं,२७ फागुन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् । आइतबार बिहान प्रहरी हेडक्वाटरको निरीक्षण गर्न पुगेका लामिछानेले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो निर्देशन दिएका हुन् ।

‘प्रहरी कर्मचारी गैरव्यावसायिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित भए हदैसम्मको कारबाही गरिने छ। र त्यसबेला कुनै शक्तिले भनसुन गरेर जोगाइदिन्छ भन्ने अपेक्षा विल्कुल नराख्नु होला। कानूनअन्तर्गत रहेर तपाईंहरुले गर्ने हरके कामको जिम्मेवारी लिन्छु। परेको चुनौती पनि व्यहोर्छु,’ उनले भने, ‘तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस्, कुनै नेताको चाकडी गरेको देख्नरसुन्न नपरोस्।’

गृहमन्त्री लामिछानेले सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्न आफू गृहमन्त्रालयमा आएको बताउँदै सरुवा बढुवाका लागि नेताको दैलो चाहरने प्रणाली अन्त्य हुनपर्ने बताए । ‘राजनीतिक हस्तक्षेपका कारण संगठन र त्यसको नेतृत्वले वृत्ति–विकासको सुनिश्चितता गर्न नसक्दा सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्न चाहान्छु’ उनले भने, ‘त्यसको सुरुआत पहिलोपटक गृहमन्त्री हुँदा डीआइजी र एसएसपीहरुको सरुवाका क्रममा गरेको थिएँ। त्यसबेला सरुवा भएर मधेस प्रदेशमा जानुहुने वर्तमान महानिरीक्षकले नै त्यसबारे धेरै बताउन सक्नुहुन्छ’।

लामिछानेले आफू प्रहरीमा रहेको ३० वर्षे सेवा अवधि हटाउने पक्षमा रहेको पनि बताए । उनले प्रहरी समायोजन सम्बन्धीको ऐन तत्काल टुंगोमा पुर्याउनुपर्ने बताए । ‘तीस वर्षे सेवा अवधिको विषयमा म क्लियर छु, यो हटाउनुपर्छ। तर, के, कसरी र कुन बेला भन्ने कुरा छलफलबाट टुंग्याउनुपर्छ। यसमा पनि कोही न कोहीले त्याग गर्नुपर्छ। कसैलाई तत्काल लाभ वा हानी पनि पर्न सक्छ। व्यक्तिलाई होइन अधिकांशको हित हुने गरी दीर्घकालसम्मका लागि नीति बनाउनुपर्छ’ उनले भने।

कुनैपनि अपराधका घटनामा निष्पक्ष छानविन गर्न प्रहरी अधिकृतलाई निर्देशन दिँदै राजनीतिक र आर्थिक कुरामा सदैव टाढै रहन आग्रह गरे । लामिछानेले भने ‘कुनै पनि घटना वा अपराधको छानबिन वा अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने भन्ने निर्धारण आदेशले होइन प्रमाणले गर्नुपर्छ। कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन प्रमाणको आधारमा निश्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुहोस्। त्यसबाट उब्जिने हरेक चुनौतीको सामना म आफैं डटेर गर्नेछु’।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖