• Sunday 18th of October 2026

प्रचण्डले दिएको धोकाको मूल्य चुकाउन माओवादीलाई गाह्वो पर्छ, उपयुक्त समयमा जवाफ दिन्छौं: उपसभापति खड्का


  • धनकुटा खबर
  • .

काठमाडौं,२७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार एकाएक सत्ता गठबन्धन भत्काएको भन्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादीको आलोचना गरेका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै पूर्व उपप्रधान तथा रक्षामन्त्री रहेका खड्काले प्रधानमन्त्री प्रचण्डले दिएको धोकाको मूल्य माओवादीलाई महंगो पर्ने उनले दाबी गरे । उपयुक्त समयमा सरकारविरुद्ध जवाफ दिने उनले बताए ।

‘यसपटक नेपाली कांग्रेसलाई मात्र होइन, निर्वाचनका बेला मतदातालाई दिएको वचनबाट माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राजनीतिक रूपमा ठूलो धोका भएको छ,’ आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उपसभापति खड्काले भने, ‘यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ।’

कांग्रेसको कारण यो गठबन्धन नबनेको भन्दै उनले माओवादीका कारण जनताले पनि धोका पाएको टिप्पणी गरे । आम निर्वाचनमा मतदातासँग गरेको बाचा भुलेर प्रचण्डले काँध फेरेको उनको भनाई थियो । ‘कांग्रेससँगको गठबन्धन तोड्नुको कारण राजनीतिक दृष्टिकोणले प्रचण्डले धारणा राख्नुहोला। तर तीन तहका सरकार बनाउँदा निर्वाचनका बेला जनतासँग गरेका बाचाको जवाफ उहाँले दिनुपर्छ,’ उनले भने।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत सोमबार पूरानो गठबन्धन भत्काएर ५ दलीय गठबन्धन निर्माण गरेका थिए । नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी मिलाएर प्रचण्डले नयाँ गठबन्धन बनाएका हुन् । ५ दल मिलेर बनेको नयाँ गठबन्धनलाई समेटेर प्रचण्डले मन्त्रिपरिषद्समेत पुनर्गठन गरिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖