काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सो पार्टीका नेता ठाकुरमोहन श्रेष्ठमाथि भएको आक्रमणको अनुसन्धान प्रहरीले गर्ने बताउनुभएको छ ।
सो घटनाको अनुसन्धानका लागि प्रहरीलाई आग्रह गरिसकेको लिङ्देनले बताउनुभयो । आइतबार बिहान पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा पार्टी कार्यालय धुम्बाराहीमा श्रेष्ठमाथि आक्रमण भएको थियो ।
घटनापछि अध्यक्ष लिङ्देनले पार्टीका पदाधिकारीलाई अप्रत्याशित रूपमा आक्रमण भएको भन्दै खेद प्रकट गर्नुभयो । त्यो कुरा भन्ने खोजी भइरहेको छ, प्रहरीलाई हामीले अनुसन्धान गर्न आग्रह गरिसकेका छौँ’, उहाँले भन्नुभयो ।
पार्टी कार्यालयभित्र पार्टीका पदाधिकारीलाई अप्रत्याशित रूपमा आक्रमण हुनु निक्कै संवेदनशीले विषय भएको उहाँले बताउनुभयो । सीसीटीभी, सञ्चारमाध्यममा आएको भिडियो समेतलाई लिएर अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको उहाँले स्पष्ट पार्नुभयो ।
पार्टीको बैठकमा श्रेष्ठले पूर्व मन्त्री समेत रहनु भएका विक्रम पाण्डेलाई भ्रष्टाचारीको संज्ञा दिँदै आलोचना गर्नुभएको थियो । श्रेष्ठले भ्रष्टाचारी भनेपछि पाण्डे बैठक स्थलबाट बाहिरिनुभएको थियो । पाण्डे बाहिरिएपछि केही समयका लागि बैठक स्थगित भएको थियो । स्थगित बैठकबाट बाहिर निस्कन लाग्दा श्रेष्ठमाथि आक्रमण भएको थियो ।
श्रेष्ठ माथि पाण्डेका मानिसहरूले आक्रमण गरेको आशंका गरिएको छ । घटनामा ठाकुरमोहनलाई चोटपटक लागेको छ । ठाकुरमोहन पूर्व एआइजी हुनुहुन्छ ।
