• Sunday 18th of October 2026

ग्याल्पो ल्होसारका नाममा आज अनावश्यक बिदा, शेर्पा समुदायले १ महिनाअघि नै मनाइसकेका थिए


  • धनकुटा खबर
  • .

काठमाण्डाै – सरकारले ग्याल्पो ल्होसारको नाममा आज अनावश्यक बिदा दिएको छ । गएको माघ २७ गते नै मनाइसकेको पर्वलाई अहिले बिदा र शुभकामना दिएकोमा शेर्पा समुदायले असन्तुष्टिसमेत जनाएका छन् ।

सरकारले आज सार्वजनिक बिदा र शुभकामना दिए पनि आफूहरूले गएको माघ २७ गते सोनाम ल्होसार र ग्याल्पो ल्होसार मनाएको शेर्पा सङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले बताउनुभयो । यस वर्ष ग्याल्पो ल्होसार र सोनाम ल्होसार गएको माघ २७ गते एकैदिन परेको थियो । त्यही दिन नै शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाएका तर सरकारले आज बिदा र शुभकामना दिनु औचित्यहीन रहेको सङ्घका अध्यक्ष शेर्पाले उज्यालोलाई जानकारी दिनुभयो । त्यति बेला नै प्रधानमन्त्री र सञ्चारमन्त्रीले समेत आफूहरूलाई ग्याल्पो ल्होसारको शुभकामना दिएको उहाँको भनाइ छ ।

शेर्पाको संस्कृतिलाई लिएर सम्बन्धित विज्ञसँग छलफल नगरि सरकारले पात्रोमा बिदा राखेकोमा उनीहरूको आपत्ति छ । यस वर्ष पात्रोमा गलत लेखिएकाले आफूहरूले सच्याउन आग्रह गरे पनि सरकारले बेवास्ता गरेको शेर्पा सङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले बताउनुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार भोटचन्द्र पात्रोअनुसार शेर्पा समुदायले मलमास नमान्ने हुँदा यस वर्ष अगाडि नै पर्व मनाएको तर अरू अवस्थामा फागुन शुक्ल परेवामा मान्ने चलन हुँदा समस्या हुँदै आएको बताउनुभयो । तिथिअनुसार हेर्दा ग्याल्पो ल्होसार आजको दिन पर्ने उहाँको दाबी छ ।

यसैबीच गृह मन्त्रालयले आजको सार्वजनिक बिदा गएको वर्ष नै निर्धारण भएको तर यो बीचमा ग्याल्पो ल्होसार माघमा परेको भनेर कहीँ कतैबाट औपचारिकरूपमा जानकारी नआएको जनाएको छ । उज्यालोसँगको कुराकानीमा गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले कहीँ कतै अनौपचारिकरूपमा चर्चा भएका विषयलाई लिएर मन्त्रालयले थप निर्णय गर्न नसक्ने अवस्था हुँदा आज सार्वजनिक बिदा दिएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖