• Sunday 18th of October 2026

जन्मदिनमा बुबालाई सम्झिँदै सुहाङले भने: विहानै अंगालो हालेर ‘ह्यापी बर्थडे बुबा’ भन्न पाइएन!


  • धनकुटा खबर
  • .

काठमाडौं,२८ फागुन । संविधान सभाका अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष स्व: सुवासचन्द्र नेम्वाङको ७२ औं जन्मदिनको अवसरमा उनका आफन्त तथा शुभचिन्तकहरुले उनको स्मरण गरेका छन् ।

तिनकुनेस्थित बागमती करिडोरमा रहेको स्व:जननेता मदन मण्डारीको सम्झनामा निर्मित मदन भण्डारी स्मृति पार्कमा सुवासचन्द्र नेम्वाङले रोपेका रूखमा जल चढाएर जन्मजयन्ती मनाइएको छ। पार्क व्यवस्थापन समितिको आयोजनामा सुवासकी धर्मपत्नी र कान्छा छोरा सुहाङ नेम्वाङले जल चढाएका थिए। बुबाले रोपेको रुद्राक्षको रूखमा जल चढाएर छोरा सुहाङले बुबालाई सम्झिँदै भावुक बनेका छन् ।

उनले बुबालाई अंगालो हालेर ह्यापी बर्थडे भन्न नपाएको भन्दै भावविह्वल बनेका थिए। ‘आज उहाँ (बुबा) को जन्मदिन। विहानै अंगालो हालेर ह्याप्पी बर्थडे बुबा भनेर शुभकामना दिनुपर्ने। तर, त्यो इच्छा आज पूरा हुन सकेन’, उनले भने। ‘आजमात्र होइन, सुहाङले अब बुबालाई अंगालो हालेर जन्मदिनको शुभकामना दिन पाउने छैनन्। तर उहाँका याद र मिठा पलहरू सधैं सम्झनामा बसेको छ, बसिरहनेछ,’ छोरा सुहाङले भने। यति बोल्दै गर्दा उनी केही समय निशब्द बनेका थिए।

सुहाङले बुवाको सम्झनामा सोमबार बिहान भावुक स्टाटस लेखेका छन् । बुवालाई सम्झँदै सुहाङले सामाजिक सञ्जालमा लेखेका छन ‘आज बुवा (सुवासचन्द्र नेम्वाङ) को ७२ औं जन्मदिन । गएका बर्षहरुमा यो दिन हाम्रो लागि उत्सव हुन्थ्यो । बिहान सवेरै उठेर अंगालो हालेर भन्थे, ‘ह्यापी बर्थडे है पापा ।’ तर अब भौतिक रुपमा त्यो त्यस्तो खुशीको दिनहरु कहिल्यै फर्केर आउने छैन । मात्रै उहाँसँगका सम्झनाहरु हामीसँग हुनेछन् । सधैं मिठो याद भएर बस्नेछ । आज उहाँको जन्मदिनको अवसर पारेर उहाँले रोप्नु भएको विरुवामा पानी हाल्ने कार्यक्रम भयो । आमा र मैले तिनकुने सुविधानगर, काठमाडौं पुगेर बुवाले रोप्नु भएको बिरुवामा पानी हाल्यौं । यो कार्यक्रमको आयोजना गरेर हामीलाई हौसला र शक्ति प्रदान गर्नु हुने सबै आदरणीय अग्रजहरुप्रति आभारी छौं । बुवा आज हामीसँग हुनुहुन्न । तर उहाँले देखाउनु भएको बाटो र उज्यालो छ । जसरी आज उहाँको छोरा, साथी र सहयोगीको रुपमा उहाँले रोप्नु भएको बिरुवा फैलियोस् भनेर जसरी पानी हालेँ । उहाँको विचार, सिद्धान्तलाई फैलाउन अनि उहाँको सपना र संकल्प जिवित राखेर अगाडि बढाउन सधैं प्रयत्नरत हुनेछु । ‘ह्यापी बर्थडे है पापा’!

नेम्वाङको गत भदौ २६ गते आकस्मिक निधन भएको थियो । २०४८ सालदेखि इलाम-२ बाट लगातार संसद्मा प्रतिनिधित्व गरिरहेका उनी गत वर्षको निर्वाचनमा पनि इलाम २ बाटै निर्वाचित भएका थिए ।

संसद्मा पक्ष विपक्ष सबैले बराबर सम्मान र आदार गर्ने नेम्वाङको निधनपछि वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ । वैशाख १५ मा हुने उपनिर्वाचनमा सुहाङ एमालेको तर्फबाट उम्मेदवार बन्ने तयारीमका छन् । उम्मेदवार बन्ने चाहनासहित उनले पार्टीमा आधिकारीक रुपमा निवेदनसमेत दिईसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖