• Friday 16th of October 2026

ट्रकमा लागेको आगो सल्केर कर्णाली पुलमा क्षति : तत्काललाई सवारी आवागमन बन्द


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन २९ । कर्णाली पुलमा लाइटर लोड गरी विरगञ्जबाट कञ्चनपुरतर्फ गइरहेको ट्रकमा आगलागी हुँदा त्यसैको आगो सल्केर उक्त पुलमा पनि क्षति पुगेको छ ।

क्षतिको यकिन गरी सुरक्षाको दृष्टिकोणले ठिक छ कि छैन भन्ने पत्ता नलाग्दासम्म उक्त पुलबाट केही दिनका लागि आवागमन बन्द गरिएको छ ।

वैकल्पिक मार्गबाट सवारी आवागमनको लागि कैलालीको लम्कीदेखि दक्षिणी टिकापुर(सत्तिपुल हुँदै बर्दियाको राजापुरबाट गुलरिया भएर पूर्व(पश्चिम राजमार्गमा निस्कन सकिने वा हुलाकी राजमार्ग प्रयोग गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख इन्जिनियर नीरज शाक्यले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश जोड्ने कर्णाली नदीमाथिको पुलमा गुडिरहेको ट्रकमा लागेको आगो दुईघण्टासम्म नियन्त्रण बाहिर रहेको थियो । वीरगञ्जबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा सोमबार अपरान्ह एक्कासी आगलागी भएको थियो ।

लाइटर बोकेको उक्त ट्रकमा आगलागी हुँदा ट्रक पूर्णरूपमा जलेको छ भने कर्णाली पुलका केही लठ्ठामा समेत क्षति पुगेको छ । जसका कारण पुल नै जोखिममा परेको छ । ट्रकमा रहेका चालक र सहचालकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

कैलाली र बर्दियाका विभिन्न पालिकाहरूबाट ढिलै भएपनि पुगेका दमकलको सहायतामा आगो नियन्त्रणमा ल्याउने प्रयास गरिएपनि पूर्ण रूपमा नियन्त्रण हुन सकेको थिएन । त्यसपछि बालुवा हालेर आगो निभाउने प्रयास गरिएको थियो । ट्रकमा १ करोड १० लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरका लाइटर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖