काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा माओवादीका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहालले बाजी मारे । उनलाई एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन थियो । गठबन्धनका दाहालले ३९ मत पाउँदा शर्मा १७ भोटमा रोकिए ।
दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको नाता जोडेर केही टिकाटिप्पणी पनि भए । तर, नारायण प्रचण्डको सहोदर भाइ नभएको नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ बताउँछन् ।
‘उहाँलाई राष्ट्रियसभामा पठाउने निर्णय पार्टी पदाधिकारी बैठकको सर्वसम्मत निर्णय गरेको हो । उहाँ प्रचण्डको सहोदर भाइ पनि हैन’, दीपशिखाको जिकिर छ ।
२०७८ चैत २५ गते राष्ट्रियसभा सदस्यमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुँदा पनि प्रचण्डकै भाइ भएको कारणले अवसर पाएको आरोप लागेको थियो । दाहाल मनोनीत हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि चर्कोरूपमा प्रचण्डको आलोचना गरेका थिए ।
अहिले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर नयाँ सहमति बनेपछि ओली आफैं उनै दाहाललाई जिताउन पार्टीपंक्तिमा ह्वीप जारी गर्ने अवस्थामा आइपुगे ।
दाहालले पनि आफू प्रचण्डको भाइ भएकै कारण जिम्मेवारी नपाएको भन्दै पार्टीमा गरेको योगदान अवमूल्यन नगर्ने आग्रह गरेका छन् ।
सोमबार उम्मेदवारी दर्तापछि भनेका थिए, परिवारवादको कुराले सुन्दा मेरो कान पाकिसके । मुख थाकिसके । म ०६३ सालमा अन्तरिम व्यवस्थापिकामा प्रवेश गरेँ । त्यो बेलादेखि नै मैले कुनै जिम्मा लिन पर्दाखेरि जुन ढंगले यो पार्टीमा योगदान दिएँ ।
उनले पार्टीमा ०३६ सालदेखि पूर्णकालीन सदस्यता लिएर काम गरेका थिए । अहिले प्रचण्डकै भाइ भएको कारणले बागमती प्रदेशको इन्चार्ज हुनबाट रोकेकोप्रति पनि गुनासो गरे ।
उनले थपे, ‘अहिले दाजुभाइको नाता पर्ने हिसाबकिताबले हुन्न भन्यो भने म युद्धमा हिँड्दाखेरि दाइ हिँडेको छ, तँ हिड्नु हुन्न भन्न किन आएनन् ? अहिले पाउँदैन जिम्मेवारी भन्नेले दाइ युद्धमा हिँडेको छ, तँ किन हिँडेको, मिल्दैन भनेर कसैले भनेन। त्यो बेला एक दिन ढिला भयो भने आफ्नालाई बचाउन भन्ने कुरा आउँथ्यो । यसमा मेरो धेरै भन्नु छैन ।’
नारायणमात्र नभइ परिवारका सबैजना पार्टीमा पूर्णकालीन सदस्य छन् । उनका परिवार नै जनयुद्धमा हिँडेका थिए ।
