• Sunday 18th of October 2026

‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय, कुरा बुझ-कुनै गठबन्धनका पछाडी नलाग लाटी’


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० फागुन । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष समेत रहेकी श्रीमती रञ्जिता श्रेष्ठलाई सम्झाउन नसकेको गुनासो गरेका छन्। बुधबार बिहान लामो फेसबुक स्ट्याटस लेखेर अहिलेको परिस्थितिबारे पार्टी अध्यक्ष रहेकी श्रीमती श्रेष्ठलाई सम्झाउन नसकेको बताएका हुन्।

प्रचण्ड नेतृत्वको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा समर्थन गर्नुपर्ने अडानमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ छन्।तर, पार्टीका संरक्षक रहेका चौधरी भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा छन्। ‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन,’ रेशमलालले लेखेका छन्, ‘आज लोग्नेस्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ। तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न। आज जतिले मन दुखाएका छन ती हामीलाई हृदयदेखि चाहनेवाला हुन्। मलाई भोट हाल, मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउनेवाला मात्रै हुन्। मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौं टण्टै साफ।’

रन्जितालाई सम्झाउन आफू कैलालीबाट कठमाडौं आए पनि सम्झाउन नसकेको उनले उल्लेख गरेका छन्। म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भैइनन्। उनको भनाइ छ- प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न,ु रेशमले लेखेका छन्, अरे लाटी, टिकापुर घटनापछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि !अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन्,दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौँ र तिमी पनि मन्त्री भएकी हौं। नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उखेल्नेवाला छैनौँ। जताबाट पनि भलो ठुलै दलको हुने हो, हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो।

निर्वाचन आयोगले आफूलाई मान्यता नदिएको बारेपनि उनको आक्रोश छ । ‘जेलमा मैले लेखेको विधानले आज पार्टी चलेको छ। तर मैले सबैको सदुपयोगीका लागि विधान लेखेको हुँ, दुरुपयोगका लागि होइन,’ रेशमललाले भनेका छन्, ‘अहिले विधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ। सबै कानुन जान्नेलाई थाहा छ, महाधिवेशन विधान भन्दा माथि हुन्छ। सत्ताको सदुपयोग या दुरुपयोग क्षणिक हो, तर जनता जनार्दन हुन्। यसका बारेमा अदालतले केही दिनमा अवश्य न्याय देला।’

आफ्ना कारण लाखौं जनताको मन दुखेको आफूलाई अनुभूत भएको उनको भनाइ छ। ‘त्यसकारण म क्षमा चाहन्छु । तर पहिचानको आन्दोलनको सिपाही हुँ। कहिल्यै हार मान्नेवाला छैन,’ उनले लेखेका छन्, ‘म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ। रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन । मान्नैपर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖