• Friday 16th of October 2026

कनेक्ट आईपीएस ह्याक गरेर आमा–छोराको खाताबाट १० लाख चोरी


  • धनकुटा खबर
  • .

कनेक्ट आईपीएस ह्याक गरेर १० लाख १० हजार रुपैयाँ चोरी भएको छ । सुनसरीको इनरुवा नगरपालिका–२ बस्ने शिवनन्दन मेहताको कनेक्ट आईपीएसमा जोडिएको आमा रुसनीदेवी र उनको बैंक खाताबाट रकम चोरी भएको हो ।

गत माघ १० गते सानिमा बैंकमा खोलेको खाताबाट गिरोहले कनेक्ट आईपीएस प्रयोग गरी मेहताको खाताबाट एकैपटक ९ लाख रुपैयाँ ट्रान्सफर भएको छ । त्यस्तै उनकी आमाको रुसनीदेवीको नाममा रहेको लुम्बिनी विकास बैंकको खाताबाट समेत पटकपटक गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर भएको हो ।

उनले यसबारे जिल्ला प्रहरी कार्यालय, सुनसरी र प्रहरीको साइबर ब्यूरोमा पनि अनुसन्धान गरिदिन भन्दै जाहेरी दिएका छन् । जाहेरीमा उल्लेख भएअनुसार, आमा रुसनीदेवीको लुम्बिनी विकास बैंक इनरुवामा भएको पैसा काठमाडौंको अफसोर सफ्ट टेक प्रालिमा गएको देखिएको छ भने शिवनन्दनबाट चोरिएको पैसा भने पारेश्वर थापा नामक व्यक्तिको खातामा ट्रान्सफर भएको छ ।

साइबर ब्यूरोले भने भीपीएन प्रयोग गरेर अमेरिकाको लोकेसनबाट ह्याक भएको देखिएको जानकारी गराएको छ । आफ्नो बैंक खाताबाट कुनै व्यक्तिले अनधिकृत रूपमा रकम निकालेको जानकारी आएलगत्तै बैंकमा पुगेर खबर गरी अर्को बैंकमा पुगेको रकम रोक्न अनुरोध गरेको भएपनि आफ्नो खाता रहेको सानिमा बैंकले वास्ता नगरेको शिवनन्दनले बताए ।

आफ्नो खाता रहेको सानिमा बैंकको लापरबाहीका कारण आफ्नो खाताबाट ९ लाख रुपैयाँ चोरी भएको भन्दै मेहताले सम्बन्धित बैंक र नेपाल राष्ट्र बैंकमा समेत उजुरी गरेका छन् । मेहताले बैंकको लापरबाहीका कारण पैसा चोरिएको बताएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖