• Friday 16th of October 2026

कुवेत सडक दुर्घटना : दिनदिनै फोन गरिरहने सुजनको मंगलबार फोन आएन, मृत्युको खबर आयो


  • धनकुटा खबर
  • .

कुवेत सडक दुर्घटनामा परेर तीन नेपालीको मृत्यु भएको छ।
नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ बस्ने सुजन कार्की, पञ्चदेवल विनायक नगरपालिका-५ अछामका सुरजबहादुर कडायत र वेंगाडावर-३ मिथिला नगरपालिका धनुषाका धिरज गुर्माछान मगरको घटनास्थलमै मृत्यु भएको हो।

मंगलबार बिहान महबुला क्षेत्रमा कारले ठक्कर दिँदा तीन नेपालीको घटनास्थलै मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासका सूचना अधिकारी प्रेमराज गौतमले जानकारी दिए।

तीमध्ये सुजन कार्कीको परिवारसँग हामीले कुरा गरेका छौं।
नागार्जुन नगरपालिका-२ का २३ वर्षीय कार्की रोजगारीका लागि एक वर्षअघि कुवेत पुगेका थिए। उनी कुवेत गएको भोलि शुक्रबार एक वर्ष प‍ूरा हुन्छ।

उनी कुवेतको पापाजन कम्पनीमा पिजा बनाउने कामका लागि गएका थिए।

सुजनले दिनमा एकपल्ट घरमा फोन गरिरहन्थें। सोमबार पनि सुजनसँग कुराकानी भएको उनका भाइ सुमन कार्कीले जानकारी दिए।
‘भोलि बिदा छ, पैसा हालिदिन्छु भनेका थिए,’ उनले भने, ‘भोलिपल्ट दुर्घटनामा परेको खबर सुन्नुपर्‍यो।’

सुमन पनि वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका छन्। त्यसैले सुजनले भाइलाई पैसा पठाउने भनेका थिए।
सुजन घरको जेठो छोरा हुन्।

बुबा सुवास कार्की र आमा जानुकालाई दिनहुँ फोन गरेर भाइलाई छिट्टै विदेश पठाउने कुरा गरिरहने गरेको सुमन बताउँछन्।
‘फोनमा कुरा भइरहन्थ्यो, मंगलबार साँझ ढिलासम्म फोन नआउँदा हामीले घुम्न गएको होला भन्ने सोच्यौं,’ सुमनले भने।
सुजन सामाखुसीको एसआरके मेनपावरबाट गएका हुन्।
‘मंगलबार साँझ मेनपावरबाट सुजन दुर्घटनामा परेको खबर आएको छ। एकपल्ट बुझ्नुहोस् भनेर फोन आयो। पछि बुझ्दा घटनास्थलमै मृत्यु भएको खबर सुन्नुपर्‍यो,’ उनले भने।
सुजनका साथीहरूसँग सोधपुछ गर्दा घुमेर फर्किदा दुर्घटनामा परेको बताएका छन्।

‘हामीलाई मृत्यु भएपछि मात्र थाहा भयो,’ उनले भने।
दाजुको मृत्यु भएको खबर सुनेपछि बा-आमा विक्षिप्त हुनुभएको छ। शव स्वदेश ल्याउने प्रक्रियाका लागि आफैं बढाउन दौडधुप गरिरहेको उनले बताए।
‘आज परराष्ट्र मन्त्रालयले दुई बजे बोलाएको छ, वडाध्यक्ष र हामी जान लागेका छौं,’ सुमनले भने। -सरिता अछामी/सेतोपाटी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖