• Friday 16th of October 2026

छोराको मृत्युपछि एकल बनेकी बुहारीलाई यसरी अन्माए…


  • धनकुटा खबर
  • .

गुल्मी शान्तिपुरका लक्ष्मीधर गौतमले विधवा बुहारीलाई अन्माएर पठाएका छन्। बुटवलमा बस्दै आएको गौतम परिवारले शुक्रबार बुहारी धना न्यौपानेलाई अन्माएर बिदा गरेका हुन्।

लक्ष्मीधरका छोरा ध्रुव गौतमको करेन्ट लागेर तीन वर्षअघि निधन भएको थियो। निधनको समयमा ध्रुव २७ वर्षका थिए। निधनको तीनवर्ष अघि नै २०७४ ध्रुवको धनासँग बिहे भएको थियो।

‘छोराबुहारी बुटवलमा इलेक्ट्रोनिक्स पसल चलाउँथे। छोरोले इलेक्ट्रिसियन पढेको थियो,’ लक्ष्मीधरले भने, ‘त्यहीबेला छोरा दुःखद् घटना भयो।
त्यसपछि २४ वर्षकै उमेरमा बुहारी धना विधवा भइन्। ‘नातिनातिना भएकै थिएनन्। बिचरीको कलिलो उमेरमा सिउँदो पुछियो,’ लक्ष्मीधरले भने।

त्यसपछि लक्ष्मीधरले बुहारीलाई सान्त्वना दिएका थिए। ‘मेरा तीन छोरा हुन्, उ त बितिगयो। तर, बुहारीका रुपमा तिमि पनि छोरा नै भयौं भनेर सम्झाउने कोसिस गरेको थिएँ,’ लक्ष्मीधर सम्झिन्छन्,‘तिम्ले लिने निर्णय मलाई भन। यतै बस्छौं, तीन भाइको अंश कायम नै छ, बिहे गर्छौं भने छोरी झैँ अन्माएर पठाउँछु भनेँ।’

ध्रुवको मृत्युपछि धना तीनवर्ष विधवा भएरै बसिन्। स–सानो जागिर गर्न थालिन्। घरपरिवारसँग पनि आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको लक्ष्मीधर बताउँछन्। लक्ष्मीधर आफू भने १० वर्ष इजरायल बसेर एक महिनाअघि नेपाल फर्किए।

‘म आएपछि बुहारीले आफूलाई एक जना मान्छे मन परेको र घरपरिवार राजी भए विवाह गर्ने मनसायमा रहेको सुनाइन्,’ लक्ष्मीधरले भने,‘उनीहरूको मन मिलेकाले सकेको सबै कुरा चाँजोपाँजो मिलाएर हिजो हिन्दु परम्परा अनुसार अन्माएर पटाइदियौँ। भोलि दुर्गन गर्न आउँछु भनेका छन्।’

धनाको पछिल्लो विवाह अमृत पौडेलसँग भएको छ। दुवैले एक अर्कालाई मन पराएर विवाह गर्ने प्रस्ताव ल्याएको लक्ष्मीधर बताउँछन्। ‘बाबु साउदी अरेबियामा काम गर्नुहुँदो रहेछ। थोरै हतार भएकाले हिजो विवाह गरिदियौँ,’ लक्ष्मीधरले भने।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖